चितवन । चितवनमा ८५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । साउनको पहिलो सातासम्म चितवनमा ७० प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डेले बताए ।
उनका अनुसार पूर्विचितवनको क्षेत्र करिब ९० प्रतिशत धान रोपाइँ सकिएको छ । पश्चिम चितवनमा कम रोपाइँ भएको उनले बताए । असार मसान्तसम्ममा सबै क्षेत्रमा रोपाइँ ९० प्रतिशत कट्नुपर्ने भए पनि असारमा पानी कम परेका कारणसमेत रोपाइँ ढिलो भएको हो । कतिपय चैतेधान लगाएका, मकै लगाएका किसानले अब बल्ल रोपाइँको तयारी गरेको उनले बताए । साउन १५ गतेसम्ममा जिल्लामा रोपाइँ ८० प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ ।
“धेरैजसो किसानले धान रोपाइँ सकेका छन्, चैते धान लगाएका, मकै लगाएका किसान भने अब रोपाइँको तयारीमा छन्”, पाण्डेले भने, “पानी पर्न फेरि सुरु भएको छ, साउन २० सम्म लगभग रोपाइँ सकिन्छ ।” बीचमा पानी नपरेका कारण धान रोपाइँ कम भएको छ । चितवनमा स्थानीय जातका धान सावित्री, सावा, रामधान बढी मात्रामा लगाइएको छ। केही मात्रामा हाइब्रिड धानसमेत लगाइएको उनले जानकारी दिए ।