चितवन । चितवनमा रगत अभाव भएको छ । रगत अभाव भएपछि विभिन्न संघसंस्थालाई रक्तदानका कार्यक्रम गर्न जोड दिइएको छ । यसैबीच रगत अभावलाई ध्यानमा राखि पश्चिम चितवन पत्रकार मञ्चले रक्तदान कार्यक्रम गर्ने भएको छ । शनिबार सम्पन्न मञ्चको सचिवालय बैठकले साउन २८ गते भरतपुर १९ रामपुर बजारमा रक्तदान कार्यक्रम गर्ने भएको हो ।
मञ्चका अध्यक्ष अपिल घिमिरेका अनुसार चितवनमा बर्षा र गर्मीका कारण रक्तदान क्याम्प आयोजना हुन सकेको छैन, जसका कारण रगत अभाव भएको छ । रगत अभाव भएपछि चितवनमा अहिले बाहिरी जिल्लाबाट रगत ल्याउनु पर्ने बाध्यता छ ।
यस्तै बैठकले आउँदै गरेको हरितालिका तिजको अवसरमा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । ११ भदौमा भरतपुर २८ का दिदिबहिनीहरुसँग तिज पर्वको महत्त्व विषयमा अन्तरक्रिया तथा दर खाने कार्यक्रम आयोजना गर्न लागेको मञ्चको महिला सशक्तिकरण उपसमितिकी सविता अधिकारीले जानकारी दिइन्।
मञ्च मार्फत पश्चिम चितवनको पत्रकारीताको इतिहास समेटिएको पुस्तक प्रकाशनको पनि तयारी हुँदैछ । प्रतिवेदन लेखन उपसमितिका संयोजक रामशरण गैरेका अनुसार मञ्चमार्फत अहिले पुराना पत्रकारको खोजी र इतिहास खोजीको काम हुँदैछ ।
यस्तै पश्चिम चितवन पत्रकार मञ्चले सदस्य बन्ने चाहाना भएकाहरुका पत्रकारहरुका लागि सदस्यता पनि खुलाएको छ । पश्चिम चितवन घर भएका वा पश्चिम चितवनमा रहेका मिडियामा काम गरेका पत्रकारहरुले मञ्चको सदस्य बन्न पाउँने छन् । पश्चिम चितवनका पत्रकारहरु एकता र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले स्थापना गरिएको पश्चिम चितवनका पत्रकारहरुको यो साझा संस्था हो ।