चितवन । संघीय संसदको चुनावको मिति घोषणा नगर्दै राप्रपाले चितवनमा चुनावी अभियान सुरु गरेको छ । सम्भवत संघीय संसदको चुनाव पनि सरकारले छिटै घोषणा गर्ने जनाएको छ । मंसिर २ गते चुनावी मिति घोषणा हुने अड्कलबाजी पनि भइरहेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) चितवनले आगामी निर्वाचनलाई लक्षित गर्दै चुनावी प्रचार प्रसार सुरु गरिसकेको छ । हालै सम्पन्न स्थानीय निर्वाचनमा चितवनमा विगतको तुलनामा राप्रपाको जनमत बढेको देखिन्छ।
जनमत बढेसँगै हौसिएको राप्रपाले आफनो संगठनको गतिविधि समेत बढाएको छ । अहिले राप्रपाको वडा कमिटीदेखि जिल्ला कमिटीसम्म राम्रो उपस्थिति रहेको छ । राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेको समेत गृह जिल्ला रहेको चितवनमा राजेन्द्र लिङ्देन अध्यक्षमा निर्वाचित भएपछि पार्टीप्रति जनमत केही बढेको देखिन्छ ।
हिजो (बिहीबार) स्थानीय निर्वाचनमा राप्रपा चितवनबाट उम्मेदवार भएकाहरुलाई भरतपुरमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा चितवनमा राप्रपाको पक्षमा बढ्दो जनलहरलाई अझ बढाउने गरी चुनाव लक्षित गतिविधिहरु गरिने बताइएको थियो। अरु दलहरु आपसी भागबन्डामै व्यस्त रहँदा राप्रपा चुनावी प्रचारमा एक कदम अगाडि देखिएको छ ।
चितवनमा राप्रपाको संगठन पछिल्लो समय मजबुत बन्दै गएको महानगरका सचिव सिग्देलको दाबी छ । उनले भने, ‘उपाध्यक्षको समेत गृह जिल्ला हो, उहाँको प्रभाव जिल्लामा राम्रो छ, त्यसले पार्टीलाई फाइदा गर्छ ।’ पूर्वी चितवनमा पहिले पार्टी केही कमजोर रहे पनि अहिले सो क्षेत्रमा जनमतको पार्टीमा आकर्षण रहेको सिग्देलको भनाइ छ ।
राप्रपाका केन्द्रीय सहमहामन्त्री रिना गुरुङले विगतभन्दा चितवनमा राप्रपाको पक्षमा जनताको रुची निकै बढेकाले आगामी चुनावमा थप जनमत बढ्ने दाबी गरेकी छिन् ।
त्यस्तै, राप्रपाको भरतपुर महानगरका सचिव शुलभ सिग्देलले राप्रपाले चुनावी प्रचार प्रसार सुरु गरिसकेको बताए । उनले भने, ‘आज पनि हामी बैठक बसेको छौँ । अब हामी छिटै वडा तहमा पुगेर प्रचारको कामलाई अगाडि बढाउँछौँ ।’
चितवनमा राप्रपाको संगठन पछिल्लो समय मजबुत बन्दै गएको महानगरका सचिव सिग्देलको दाबी छ । उनले भने, ‘उपाध्यक्षको समेत गृह जिल्ला हो, उहाँको प्रभाव जिल्लामा राम्रो छ, त्यसले पार्टीलाई फाइदा गर्छ ।’ पूर्वी चितवनमा पहिले पार्टी केही कमजोर रहे पनि अहिले सो क्षेत्रमा जनमतको पार्टीमा आकर्षण रहेको सिग्देलको भनाइ छ ।
राप्रपाबाट यसपाली स्थानीय तह चुनावमा चितवनमा ११ जना निर्वाचित भएका छन् । जसमध्ये माडी १ र ८ मा वडाध्यक्ष, भरतपुर महानगरमा ४ जना र माडीमा ५ जना वडा सदस्यमा निर्वाचित भएका छन् । २०७४ को स्थानीय तह चुनावमा चितवनबाट १ जनामात्रै वडा सदस्यमा निर्वाचित भएका थिए । यसपाली स्थानीय तहको चुनावमा चितवनबाट राप्रपाका ३ सय ६३ जना उम्मेदवारहरु थिए ।
जसमध्ये ४ जना मेयर, ६ जना उपमेयर, ७० जना वडाध्यक्ष र २ सय ८३ जना वडासदस्यका उम्मेदवार बनेका थिए । राप्रपाले भरतपुर र माडीमा चुनावी तालमेल गरेको थियो । अन्य पालिकामा एक्लै प्रतिस्पर्धा गरेको थियो ।