चितवन । चितवन कृषि ज्ञान केन्द्रमा कृषि इन्जिनियरको एउटा पनि दरबन्दी छैन । ज्ञान केन्द्रका प्रमुख युवराज पाण्डेका अनुसार चितवन कृषि ज्ञान केन्द्रमा कृषि इन्जिनियरको अभाव छ । प्रमुख पाण्डेले भने, ‘कृषि इन्जिनियरको हामीले माग गरिरहेका छौँ, अति आवश्यक भइसकेको छ ।’
ज्ञान केन्द्रमा प्राविधिक जनशक्तिको पनि अभाव रहेको छ । पर्याप्तमात्रामा प्राविधिकहरु नहुँदा कृषि क्षेत्रको वृद्धिविकासमा समस्या भएको प्रमुख पाण्डे बताउँछन् । केही दिनअघि आर्थिक वर्ष २०७८÷७९ मा ज्ञान केन्द्रले ६६.२१ प्रतिशत बजेट खर्च भएको प्रगति विवरण सार्वजनिक गरेको थियो । बजेट खर्च कमजोर हुनुमा ज्ञान केन्द्रले प्राविधिक जनशक्तिको अभावलाई पनि प्रमुख कारण देखाएको छ ।
मकवानपुर र चितवनलाई कार्यक्षेत्र बनाएको कृषि ज्ञान केन्द्रले कृषिमा आत्मनिर्भर हुने सरकारले योजना बनाइरहँदा प्राविधिक जनशक्ति कम हुन नहुने जनाएको छ । ‘हामीसँग सवारी साधनदेखि प्राविधिक जनशक्ति कम छ, नभई नहुने कृषि इन्जिनियरको तत्काल आवश्यक छ’ प्रमुख पाण्डेले भने । कृषि ज्ञान केन्द्रका अनुसार हाल कार्यालयमा प्राविधिकसहित १७ जना कर्मचारी कार्यरत रहेका छन् । अधिकृत सातौँदेखि दसौँ तहका कर्मचारी ज्ञान केन्द्रमा कार्यरत रहेका छन् ।