चितवन । नेकपा (माओवादी केन्द्र) चितवन जिल्ला संयोजक रामचन्द्र अधिकारीले चितवनमा गठबन्धन सफल भएको बताएका छन् ।
संयोजक अधिकारीले सिनर्जी एफएमबाट प्रशासण हुने कार्यक्रम संवादमा पत्रकारसँग कुरा गर्दै आधा चितवन भरतपुरमा माओवादी केन्द्रको नेतृत्व रहेको बताएका हुन् ।
अधिकारीले भरतपुर राजनितिक हिसाबले इपिसेन्टर रहेको बताए । उनले भने, ‘पार्टीको निम्ती भरतपुर राजनितिक मिसनको सुरुवात थियो, पाँच बर्ष बिकासको मोडल लिएर अभ्यास गरेका थियौँ । भरतपुरको जनताले हामीलाई अनुमोदन गर्छन् या गदैनन् भन्ने ठूलो विवाद थियो ।जनताले अनुमोदन गरे ,त्यो सफल भयो ।’
त्यस्तै, संयोजक अधिकारीले माडीमा माओवादी केन्द्रले मेयर गुमाउनु परेको पिडा रहेको भन्दै आफुहरु समिक्षामा रहेको बताए । उनले भने, ‘माडीमा मेयर गुमाउनुको दुःख छ हामी समिक्षा गछैँ ।’ अधिकारीले गठबन्धनका दलहरुबीच एकता नपुग्नु र आफनो पार्टीबीच आन्तरीक तयारी कमजोर हुनु माडीको हारको प्रमुख कारक रहेको बताए ।
माओवादी केन्द्र संगठन कमजोर रहेको कुरा अस्वीकार गर्दै अधिकारीले आफुहरु स्थानिय निर्वाचन पछि थप बलियो भएको दाबी गरे ।
चितवनमा गठबन्धन गर्दा माओवादी केन्द्रको भागमा दुई मेयर र तीन उपमेयर परेको थियो । त्यसमा माओवादी केन्द्रले मात्र भरतपुरको मेयरमा विजयी हासिल गर्यो । यस अघि माओवादी केन्द्रसँग भरतपुर र माडी गरि दुई मेयर थिए ।