चितवन । चितवन राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्षमा दुई गुणा बढी राजस्व संकलन गरेको छ ।
निकुञ्जले गत आर्थिक वर्षमा २०७८÷७९मा पर्यटन, दण्ड जरिवाना, न्यायिक दण्ड जरिवाना, ढुङ्गा गिट्टी बालुवा, काठ दाउरा बिक्री, गैरकाष्ठ वन पैदावर बिक्री बापत कुल ११ करोड ४९ लाख ९७ हजार ४१३ रुपैयाँ राजस्व संकलन गरेकोे छ । जुन अघिल्लो आर्थिक वर्ष (२०७७÷७८)को सोही अवधिको तुलनामा दुई गुणा भन्दा बढी हो ।
निकुञ्जले सबैभन्दा बढी पर्यापर्यटनबाट राजस्व संकलन गरेको छ । निकुञ्जमा गत वर्षमा करिब दुई लाख पर्यटक घुम्न आउँदा पर्यापर्यटनबाट मात्रै १० करोड २३ लाख ९८ हजार ८५० रुपैयाँ राजस्व संकलन गरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए ।
त्यस्तै, निकुञ्जले काठ दाउरा बिक्रीबापत ७ लाख १७ हजार ३२ रुपैयाँ राजस्व संकलन गरेको छ भने, गैरकाष्ठ वन पैदावर बिक्रीबापत ६९ लाख ४९ हजार ५४२ रुपैयाँ ७६ पैसा, दण्ड सजायबाट प्राप्त राजस्व बापत ३२ लाख ११ हजार ४१२ रुपैयाँ ७२ पैसा र अन्य शीर्षकबाट १७ लाख २० हजार ५७५ रुपैयाँ राजस्व संकलन गरेको छ ।
निकुञ्जले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा सबै शीर्षकबाट जम्मा साढे चार करोड रुपैयाँ संकलन गरेको थियो । तिवारीका अनुसार गत वर्ष निकुञ्जमा पर्यटकको आवागमनसँगै राजस्वमा उल्लेख्य वृद्धि भएको हो ।
आर्थिक वर्ष २०७७÷०७८ मा कोरोना महामारीको प्रभावका कारण निकुञ्ज घुम्न आउने पर्यटक न्यून थिए । पर्यापर्यटनबाटै बढी राजस्व उठ्ने निकुञ्जमा त्यस वर्ष पर्यटनसँगै राजस्व पनि घटेको तिवारीले बताए ।
गत आर्थिक वर्ष २०७८÷७९ मा आन्तरिक र बाह्य गरी कुल एक लाख ९० हजार ४५८ जनाले निकुञ्ज भ्रमण गरेका छन् । जसमध्ये निकुञ्ज घुम्न आउने सबैभन्दा बढी सार्क पर्यटक रहेका छन् । सूचना अधिकारी तिवारीका अनुसार गत वर्ष सार्कका ७५ हजार २७७ महिला र ८० हजार ३९४ पुरुष गरी एक लाख ५५ हजार ६७१ जनाले भ्रमण गरेका छन् ।
त्यस्तै, विदेशी पर्यटकतर्फ ६ हजार ७८० महिला र ८ हजार २८ पुरुष गरी १४ हजार ८०८ जना बाह्य पर्यटकले भ्रमण गरेका छन् ।
तिवारीका अनुसार २०७७÷०७८ मा करिब ८९ हजार जना पर्यटक निकुञ्ज घुम्न आएका थिए ।