नवलपुर। आन्तरिक राजस्व कार्यालय कावासोतीले गत आर्थिक वर्ष २०७८/७९ मा लक्ष्य अनुसारको राजस्व सङ्कलन गर्न सकेन । कार्यालयले गत आवका लागि पाएको लक्ष्यभन्दा रु ४१ करोड ५२ लाख २२ हजार कम राजस्व सङ्कलन भएको हो।
सो कार्यालयका प्रमुख कर अधिकृत टेकबहादुर अर्यालले गत आर्थिक वर्ष २०७८/७९ मा रु २४ अर्ब ११ करोड १२ लाख एक हजार राजस्व सङ्कलन गरेको जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालयले २०७८ साउन १ देखि २०७९ असार ३२ गतेसम्म रु २४ अर्ब ५२ करोड ६४ लाख २३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य पाएको थियो । कार्यालयले राजस्व सङ्कलनमा ९८ दशमलब ३१ प्रतिशत प्रगति हासिल गरेको जनाइएको छ ।
कार्यालयले सबैभन्दा बढी राजस्व अन्तःशुल्क शीर्षकबाट असुली गरेको छ । अन्तःशुल्कबाट रु २३ अर्ब चार करोड ७२ लाख लाख २७ हजार राजस्व सङ्कलन भएको छ । यस शीर्षकमा लक्ष्यभन्दा १ दशमलब ७० प्रतिशत कम राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो । कार्यालयले अन्तःशुल्क शीर्षकमा रु २३ अर्ब ४४ करोड ६५ लाख २२ हजार राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य राखेको थियो।
त्यसैगरी, कार्यालयले आय करतर्फ रु ६१ करोड ७३ लाख १८ हजार राजस्व सङ्कलन गर्न सफल भएको छ । कार्यालयले आय करतर्फ रु ५६ करोड ७९ लाख ८१ हजार राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य राखेको थियो । कार्यालयले आय करमा लक्ष्यभन्दा रु चार करोड ९३ लाख ३७ हजार बढी राजस्व सङ्कलन गर्न सफल भएको छ ।
त्यस्तै मूल्य अभिवृद्धि कर (भ्याट)तर्फ रु ४० करोड ९३ लाख १७ हजार राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य रहेकामा रु ३४ करोड ८१ लाख ७६ हजार राजस्व सङ्कलन भएको छ । कार्यालयले मूल्य अभिवृद्धि करमा लक्ष्यभन्दा रु छ करोड ११ लाख ४१ हजार कम राजस्व सङ्कलन गरेको हो ।
कार्यालयले लक्ष्य अनुसारको प्रगति हासिल गर्न नसके पनि गत आव २०७८/७९ मा सङ्कलन गरेको राजस्व अघिल्लो आव २०७७÷७८ मा भन्दा रु सात अर्बले बढी हो । कार्यालयले अघिल्लो आवमा रु १६ अर्ब ६१ करोड ५९ लाख ३७ हजार मात्रै राजस्व सङ्कलन गरेको थियो । पहिले नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का करदाताहरुले चितवनको आन्तरिक राजस्व कार्यालय भरतपुरमा कर तिर्दै आएकामा अघिल्लो आर्थिक वर्षबाट जिल्लामै कर तिर्न पाएका हुन् ।
आर्थिक वर्ष २०७७/७८ को साउन १ गतेदेखि नवलपुरको कावासोतीमा आन्तरिक राजस्व कार्यालय स्थापना भएपछि जिल्लाभित्रका सबै करदाताले यही कार्यालयमा राजस्व बुझाउँदै आएका छन्।