चितवन । कृषि ज्ञान केन्द्र चितवन र प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन इकाइको सार्वजनिक सुनुवाई तथा वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ।
आज (मंगलबार) कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी रहेका थिए । कार्यक्रममा ज्ञान केन्द्रका प्रमुख पाण्डेले २०७७÷७८ को वार्षिक समीक्षा गरेका थिए । उनले ज्ञान केन्द्रले आर्थिक वर्ष २०७७÷७८ मा ६६.२१ प्रतिशत बजेट खर्च भएको बताए।
प्रमुख पाण्डेले भने, ‘जम्मा २२ करोड ५९ लाख ९२ हजारमा १४ करोड ९६ लाख ४२ हजार अर्थात् ६६.२१ प्रतिशत खर्च भएको छ ।’ उनले विभिन्न कारणले आर्थिक वर्ष २०७७÷७८ मा सोचेजति बजेट खर्च हुन नसकेको बताए।
उनले ठाउँ विशेष तोकिएर कार्यक्रमको अख्तियारी आउँदा केही बजेट फ्रि हुन पुगेको बताए । अनुदानका कार्यक्रममा किसानले आधा बजेट खर्चनु पर्ने भएकाले पनि शत प्रतिशत बजेट खर्च हुन नसकेको उनको भनाइ थियो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईको पनि बजेट खर्चमा गिरावट आएको छ । परियोजनाका वरिष्ठ कृषि अधिकृत धनबहादुर थापाले आव २०७७÷०७८मा ९० प्रतिशत बजेट खर्च गरेको कार्यालयले आर्थिक वर्ष २०७८÷७९ मा ८८ प्रतिशतमात्र प्रगति गरेको बताए ।
कार्यक्रममा प्रमुख कोष नियन्त्रक मणिभद्र न्यौपाने, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका सूचना अधिकारी माधव पौडेललगायतले मन्तव्य दिएका थिए । कार्यक्रममा प्रमुख अतिथि जिसस प्रमुख अधिकारीले फिल्डमै पुगेर योजनाहरु छनौट गर्नुपर्ने बताए ।