चितवन। जिल्ला निर्वाचन कार्यालय चितवनमा मतदाता नामावली दर्ता गराउन आउनेको भिड लागेको छ। निर्वाचन कार्यालयमा पछिल्ला केही दिनयता दैनिक पाँच सयको हाराहारीमा मतदाता आउने गरेको जिल्ला निर्वाचन अधिकृत भीमसेन कार्कीले बताए।
निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी असार १ गतेदेखि देशभर पुनः मतदाता नामावली सङ्कलन र अद्यावधिक कार्य सुरु गरेको थियो । जिल्ला निर्वाचन अधिकृत कार्कीका अनुसार चितवनमा चार हप्ता अर्थात आज सम्ममा आठ हजार ५०० जनाले नाम दर्ता गराएका छन्। कार्कीका अनुसार कुल मतदातामध्ये आठ सय १९ जना बाहिरी जिल्लाबासी रहेका छन् ।
निर्वाचन आयोगले यसपटक, पेशा, व्यवसाय, शिक्षा र अन्य कुनै कामका लागि गृह जिल्ला बाहिर रहेकाहरूले पनि जुन जिल्लामा छन् त्यहीँबाट नामावली दर्ता गराउने व्यवस्था गरेको छ। सोही अनुसार चितवनमा पनि डोटी, दार्चुला, सिराहा, सुनसरी, काँस्की, गोरखा, गुल्मी लगायतका टाढाका जिल्लाका मतदाता नाम दर्ता गराउन आउने गरेका छन्।
मतदाताले निर्वाचनको मिति घोषणा नहुँदासम्म नामावली दर्ता गर्न पाउनेछन्। यसपटक बाहिरी जिल्लाका मतदाताले पनि चितवनबाटै नाम दर्ता गराउन पाउने भएको हुँदा जिल्लामा थप मतदाताको संख्या बढ्न सक्ने उनको अनुमान रहेको छ।