चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पार्टी सभापति रवि लामिछानेले चितवनका जनताले परिकल्पना गरेको जस्तो देश बनाउन सहज रहेको बताएका छन् । भरतपुर महानगरपालिका १० हाकिमचोकस्थित चितवन मिट टाउन रिर्सोटमा शनिबार आयोजित जिल्ला भेला सम्पन्नपछि लामिछानेले पत्रकार सम्मेलन गर्दै सो कुरा बताएका हुन् ।
भेलामा चितवनका जनताले परिकल्पना गरिएको देशका विषयमा छलफल भएको भन्दै जनताका चाहना अनुसारको देश बनाउन गाह्रो नहुने पार्टी सभापति लामिछानेले बताए ।
आफू अन्यायमा पर्दा र सञ्चारकर्मी हुँदा चितवनले आफुलाई धेरै गुण लगाएको भन्दै उनले पहिलो जिल्ला भेला चितवनबाट गरिएको र उक्त भेलाबाट असंख्य युवाहरुको साथ पाएको बताए ।
आगामी दिनमा रास्वपाले चितवनलाई हेर्ने संरचना तयार गर्न पार्टीको भेलाले जिल्लाका ६ पालिकामा कमिटी गठन तथा प्रशिक्षण कार्यक्रम गरेको हो ।
पार्टीले पहिलो भेला गरेपनि चुनावमा चितवनबाटै उठ्ने भन्ने विषयका बारेमा अहिले केही नसोचेको लामिछानेले बताए । ‘पार्टीले देशैभरबाट चुनाव लड्छ, एकल निर्णय कसैको पनि हुँदैन । सिंगो देश÷प्रदेश, आप्रवासी नेपाली र पार्टीको निर्णय भएपछि मात्रै यसको टुङ्गो लाग्छ । अहिले तत्काल हामी त्यो चरणमा पुगिसकेका छैनौँ ।’
लामिछानेले पार्टीलाई भातृ संगठन र कार्यकर्तारहित दल बनाउने निर्णय गरेको बताए । उनले भने, ‘हाम्रो पार्टीमा वडादेखि केन्द्रसम्मका कमिटीहरु छन् । भातृ संगठन एउटा पनि छैन ।’
पार्टीले पत्रकार सम्मेलन गर्दै पार्टीको विद्यान र चिनारी पुस्तिका पनि सार्वजनिक गरेको छ । उक्त पार्टीले भ्रष्ट्राचार शून्य देश, सुशासन र झन्झटरहित सार्वजनिक सेवा, अपराध अनुसन्धानमा तीव्रता र कडाइ, शिक्षा प्रणालीमा व्यापक सुधार गर्ने, किसानका हक हितमा काम गर्ने लगायतका काम प्रतिबद्धता विद्यान तथा चिनारी पुस्तिकामा समेटिएको गर्ने पार्टी सभापति लामिछानेले बताए ।