चितवन । रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीको भोलिअसार २५ गते दिउँसो १२ बजे चितवनमा पहिलो जिल्ला भेला गर्ने भएको छ । भोलिको जिल्ला भेलाको लागि रवि लामिछाने आज साँझ चितवन आएका छन् ।
चितवनको हाकिम चोकस्थित चितवन मिड टाउन (सिएमटी) रिसोर्टमा दिउँसो १२ बजे रास्वपाले जिल्ला भेला गर्न लागेको हो । रास्वपाका सभापति रवि लामिछानेले आज पत्रकारसँग कुरा गर्दै चितवनलाई आधार क्षेत्र बनाएर पहिलो जिल्ला भेला गर्न लागेको बताए । उनले भने, ‘मलाई समस्या परेको अवस्थामा चितवनले ठूलो सहयोग गरेको छ, चितवनले गुन लगाएको छ, त्यसलाई म कहाँ भुल्न सक्छु र ?’
उनले अबको चुनावमा आफू चितवन वा काठमाडौँ दुई ठाउँबाट उठ्ने सम्भावना बलियो रहेको बताए । उनले भने, ‘सबैसँग सल्लाह गरेर मात्र ठाउँ रोज्छु, चितवन वा काठमाडौँ अरु कुनै जिल्ला हुनसक्छ ।’ पत्रकार शालिकराम पुडासैनीको आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोगमा २०७६ सालमा पक्राउ परेका लामिछाने रिहाइका लागि चितवनमा ठूलो मानवसागर उर्लिएको थियो । सो मानवसागर देखेर नै रविले चितवनमा पहिलो भेला गर्न लागेका हुन् ।
यसअघिको भिडियोमा उनले भनेका छन्, ‘जीवनको कठोर समयमा चितवनले मलाई सत्कर्मका लागि बाटो देखायो। फलामे जञ्जिर चिरेर बाहिरको संसारमा पखेंटा फिँजाउन सिकायो ।’