चितवन । रोजगार सिर्जनाका लागि भएको वृत्ति तथा रोजगार मेला प्रभावकारी बनेको छ । भरतपुरस्थित चितवन उद्योग संघको प्रर्दशनी केन्द्रमा दुई दिनसम्म चलेको मेलामा रोजगारी लिन आउनेको उल्लेख्य सहभागिता रहेको पाइएको छ ।
बुधबार र बिहीबारको दिन करिब २ हजार ८ सय १३ जनाले रोजगारीको लागि आवेदन दिएका छन् । यो दुई दिनको अवधिमा करिब ५० जनाले रोजगारीका लागि लिने र दिनेबीच सहमति भएको बताइएको छ ।
आवेदन दिएका मध्ये सबैभन्दा धेरै पर्यटन क्षेत्रमा काम गर्न चाहानेहरु रहेका भरतपुर महानगरपालिका शैक्षिक महाशाखा प्रमुख महेन्द्र पौडेलले जानकारी दिनुभयो । भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाको संयुक्त आयोजना गरिएको मेलाले स्थानीय स्तरमा रोजगारी सिर्जना गरी सिजनल रोजगारी दिने लक्ष्य लिइएको छ ।
मेलामा संकलन गरिएको तथ्याडकको अभिलेख अनलाईनमा राखिनेछ । यसका लागि एप्स निर्माण भईरहेको शैक्षिक महाशाखा प्रमुख पौडेलले बताउनुभयो । यो एप्समा अब अनलाईन रोजगारी लिने र दिनेका लागि खुला गरिने छ । भरतपुर महानगरपालिका र रत्ननगरको श्रम बजार एउटै भएकाले दुई स्थानीय तहले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेका हुन् । मेलामा चितवनका शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग लगायतका क्षेत्रबाट सहभागिता रहेको थियो ।
यसअघि नेपालका कुनै पनि स्थानीय तहले रोजगार मेला गरेका थिएनन् । यो पहिलो प्रयास गरिएको भरतपुर महानगरले जनाएको छ । यसको प्रभावकारीता राम्रो हुने अपेक्षा पनि लिइएको छ । रोजगार दिने र लिनेको बीचमा स्थानीय तहले प्रत्यक्ष निगरानी गर्ने हुनाले सबै कुरा पारर्दशी हुने विश्वास पनि लिइएको छ । यस अघि रोजगारी लिने र दिने बीच हुने विकृति वा अपारदर्शीता हटेर जाने पनि आकलन गरिएको छ । मेला अवलोकनको लागि कुनै पनि शूल्क तोकिएको छैन । मेला करिब ११ हजार जनाले अवलोकन गरेको आयोजकले जानकारी दिएको छ ।