जेङजोउ । चीनको जेङजोउमा ठूलो बाढीले रेलदेखि गाडीसम्म डुबाउँदा यात्रुहरु बिचल्लीमा परेका छन् । बाढीकै कारण त्यहाँ हालसम्म १२ जनाको मृत्यु भइसकेको छ ।
यति बेला डुबानमा परेका सवारीसाधन र रेल स्टेसनभित्रका दृश्यहरु सामाजिक सञ्जालमा भाइरल बनेका छन् । हेनान प्रान्तमा यस वर्षको वर्षाले विगतका सबै रेकर्ड तोडेको बताइएको छ ।
डुबिरहेको गाडीभित्र मान्छेको घाँटीसम्म पानी आइपुगेको र रेलमा सवार यात्रुहरुले त्यसको ह्यान्डलमा झुन्डिएर आफूलाई सुरक्षित राख्ने प्रयास गरिरहेको सार्वजानिक तस्बिरहरुमा देख्न सकिन्छ ।
एक करोड २६ लाख मानिस बसोबास गर्ने जेङजोउमा ‘यल्लो रिभर’ खोलाबाट बाढी आएको बताइएको छ र उद्धारका कामहरु जारी रहेको जनाइएको छ ।
सहरको तल्लो भागमा बस्ने झन्डै एक लाख मानिसलाई तिनका घरबाट उद्धार गरिएको छ । यस आपत्कालीन अवस्थाका लागि त्यहाँ हजारौँ सुरक्षाकर्मी परिचालन गरिएको स्थानीय मिडियाले जनाएका छन् ।
बाढीपश्चात् सहरका १६० रेल सेवा रोकिएको छ । त्यस्तै, दर्जनौँ सहरमा उडान र मुख्य सडकहरु पनि बन्द गरिएको छ । यसले हजारौँ यात्रुहरु प्रभावित भएका छन् ।
त्यस्तै, वर्षाका कारण धेरै ठाउँमा बिजुली पनि काटिएको छ । जेङजोउस्थित १० हजार बढी बिरामी राखिएको अस्पतालमा घण्टौँ बत्ती नआउँदा अवस्था गम्भीर बन्न पुगेको थियो ।
वर्षायामको समयमा बाढी आउनु चीनमा असामान्य होइन, तर यसपटकको वर्षाले विगतका सबै रेकर्ड तोडिदिँदा विज्ञहरुले चिन्ता जनाएका छन् । आगामी दिनहरुमा यस किसिमका अझ धेरै अप्रत्याशित मौसमी घटनाका लागि तयार रहनुपर्ने उनीहरुले प्रक्षेपण गरेका हुन् ।