चितवन । मतदाता नामावली गर्न जिल्ला निर्वाचन कार्यालय चितवन पुगेकी फुलमाया श्रेष्ठ चितवनबाटै मतदाता नामावलीमा नाम दर्ता गराउन पाउँदा दङ्ग छिन् ।
व्यवसायका लागि विगत ६ वर्षदेखि चितवन बस्दै आएकी तनहुँकी श्रेष्ठले फुर्सद नपाएका कारण गृहजिल्ला गएर मतदाता नामावली दर्ता गर्न पाएकी थिइनन् । भरतपुर १० सिर्जनाचोकमा चियानास्ता पसल सञ्चालन गर्दै आएकी श्रेष्ठलाई मतदाता नामावली दर्ताका लागि व्यवसाय नै बन्द गरेर गृहजिल्ला जानुपर्ने थियो ।
आफु चितवन भन्दा बाहिरी जिल्लकी भएपनि चितवनबाटै मतदाता नामावलीमा नाम दर्ता गराउन पाउँदा खुसीको सीमा नरहेको बताउँछिन् । उनी भन्छिन्, ‘सानो चियानास्ता पसल थियो । एउटा कामका लागि हप्तादिन व्यवसाय नै बन्द गरेर जानुपर्ने बाध्यता थियो । बर्खाको बेला टाढाको यात्रा गर्न पनि त्रास थियो । चितवनबाटै नाम दर्ता गर्न पाउँदा समय र पैसाको पनि बचत भयो । यस्तो सहजता पाउँदा धेरै खुसी छु ।’
जिल्ला निर्वाचन कार्यालय चितवनमा पुनः मतदाता नामावली संकलन गर्दा जिल्लामा थप ७ हजार मतदाता थपिएका छन् । जसमध्ये ७ सयको हाराहारीमा बाहिरी जिल्लाबासी रहेको जिल्ला निर्वाचन अधिकृत भीमसेन कार्कीले बताए । निर्वाचन कार्यालयमा हिजो (बुधबार)सम्ममा चितवन भन्दा बाहिरका ६ सय २१ जना मतदाताले नाम दर्ता गराएको जिल्ला उनले बताए ।
त्यस्तै, पढाइको सिलसिलामा दैलेखको दुल्लुबाट चितवन आएकी रजनी पन्तले पनि चितवनबाट मतदाता नामावली दर्ता गराएकी छन् । उनी भन्छिन्, ‘मतदाता नामावली दर्ता गारउन जाँदा ४ दिन पढाइ छोड्नुपथ्र्यो । निर्वाचन आयोगले बाहिर जिल्लाबाट पनि मतदाता नामावली दर्ता गराउन पाउने व्यवस्था गरेसँगै हामीजस्ता यत्रतत्र छरिएर बसेका विद्यार्थीलाई धेरै सजिलो भएको छ ।’
रोजगारका लागि केही वर्षदेखि चितवन बस्दै आएका सुनसरी जिल्लाका मालकुमार चौधरी, बारा जिल्लाका दिपकराज सापकोटा र पढाइका लागि कास्कीबाट चितवन आएकी मनिषा सापकोटाले पनि चितवनबाट मतदाता नामावली दर्ता गराउन पाउँदा खुसी व्यक्त गरेका छन् ।
जिल्ला निर्वाचन कार्यालय चितवनमा पुनः मतदाता नामावली संकलन गर्दा जिल्लामा थप ७ हजार मतदाता थपिएका छन् । जसमध्ये ७ सयको हाराहारीमा बाहिरी जिल्लाबासी रहेको जिल्ला निर्वाचन अधिकृत भीमसेन कार्कीले बताए । निर्वाचन कार्यालयमा हिजो (बुधबार)सम्ममा चितवन भन्दा बाहिरका ६ सय २१ जना मतदाताले नाम दर्ता गराएको जिल्ला उनले बताए ।
निर्वाचन आयोगले यसपटक, पेशा, व्यवसाय, शिक्षा र अन्य कुनै कामका लागि गृह जिल्ला बाहिर रहेकाहरूले पनि जुन जिल्लामा छन् त्यहीँबाट नामावली दर्ता गराउने व्यवस्था गरेसँगै जिल्ला निर्वाचन कार्यालय चितवनमा मतादाता नामावली दर्ता गराउन आउने मतदाताको संख्या बढेको जिल्ला निर्वाचन अधिकृत कार्कीको भनाई छ । अन्य जिल्लाबाट बसाइँसराइ गरी चितवन आएको प्रमाण भए मतदान पनि चितवनबाटै गर्न पाउने व्यवस्था गरिएको कार्कीले जानकारी दिए ।
निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी असार १ गतेदेखि देशभर पुनः मतदाता नामावली सङ्कलन र अद्यावधिक कार्य सुरु गरेको थियो ।
निर्वाचनको मिति घोषणा नहुँदासम्म मतदाताले नामावली दर्ता गर्न पाउनेछन्।