चितवन । स्थानीय तह निर्वाचन सकिएको डेढ महिना कटिसक्दा पनि चितवनका ७९ प्रतिशत अर्थात १५ सय ३९ उमेदवारले निर्वाचन खर्चको विवरण बुझाएका छैनन् ।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा निर्वाचन परिणाम घोषणा भएको मितिको तीस दिनभित्रमा खर्च विवरण पठाउन जिल्ला निर्वाचन कार्यालयहरुलाई निर्देशन दिएको थियो । तर चितवनमा भने डेढ महिना नाघिसक्दा जम्मा २१ प्रतिशत उमेदवारले मात्रै खर्चको विवरण बुझाएको जिल्ला निर्वाचन अधिकृत भीमसेन कार्कीले बताएका छन् ।
स्थानीय तहको निर्वाचनमा चितवनका सात पालिकाबाट उमेदवारी दिएका १ हजार ९ सय ५० जना उमेदवारमध्ये ४ सय ११ जनाले मात्रै खर्चको विवरण बुझाएको जिल्ला निर्वाचन अधिकृत भीमसेन कार्कीले बताए ।
निर्वाचन अघि केही उमेदवारहरुले नगरवासीसँग सुशासन र भ्रष्ट्राचार नियन्त्रण गर्ने भन्दै संकल्प गरेका थिए । भने केही उमेदवारले पदवहाली भएको एक महिनाभित्रै खर्च तथा सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रतिबद्धता पनि गरेका थिए । उनै उमेदवारले निर्वाचन आयोगले ताकेता गरेको समयमा निर्वाचन खर्चको विवरण समेत बुझाएका छैनन् ।
गत वैशाख ३० गते स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएको थियो । निर्वाचनमा उम्मेदवारले प्रचार प्रसारमा गरेको आफ्नो खर्चको विवरण निर्वाचन आयोग ऐन, २०७३, स्थानीय तह निर्वाचन ऐन, २०७३ र स्थानीय तह निर्वाचन नियमावली, २०७३ बमोजिमको ढाँचामा निर्वाचन परिणाम घोषणा भएको मितिले तीस दिनभित्र पेश गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । तर जिल्लामा निर्वाचित भइसकेका उमेदवारले समेत समयमा विवरण नबुझाउन उनीहरुको अटेरीपन देखिएको छ ।
निर्वाचन अघि केही उमेदवारहरुले नगरवासीसँग सुशासन र भ्रष्ट्राचार नियन्त्रण गर्ने भन्दै संकल्प गरेका थिए । भने केही उमेदवारले पदवहाली भएको एक महिनाभित्रै खर्च तथा सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रतिबद्धता पनि गरेका थिए । उनै उमेदवारले निर्वाचन आयोगले ताकेता गरेको समयमा निर्वाचन खर्चको विवरण समेत बुझाएका छैनन् ।
स्थानीय तहको निर्वाचनमा पालिका प्रमुख र उपप्रमुखमा भाग लिन उम्मेदवारमध्ये अधिकांश उपविजेताले खर्च विवरण बुझाएका छन् । जिल्ला निर्वाचन अधिकृत कार्कीका अनुसार जिल्लाभरबाट प्रमुख पदका उमेदवार १७ जना र उपप्रमुख पदका उमेदवार १० जनाले खर्चको विवरण बुझाएका छन् ।
भरतपुर महानगरपालिकाबाट प्रमुख पदका उमेदवार ६ जना, उपप्रमुख चार जनाले मात्रै खर्चको विवरण बुझाएका छन् । त्यस्तै, राप्ती नगरपालिकाबाट तीन प्रमुख, दुई उपप्रमुख, कालिका नगरपालिकाबाट दुई प्रमुख, एक उपप्रमुख, माडी नगरपालिकाबाट दुई प्रमुख, एक उपप्रमुख र रत्ननगरबाट चार प्रमुख, दुई उपप्रमुखले खर्चको विवरण बुझाएका छन् ।
जसमध्ये कालिका नगरपालिकाबाट निर्वाचित एक जना प्रमुख, एक जना उपप्रमुख, माडी नगरपालिकामा प्रमुख पदबाट निर्वाचित एक उमेदवार, राप्ती नगरपालिकाबाट निर्वाचित प्रमुख, उपप्रमुख पदका उमेदवार र रत्ननगर नगरपालिकाबाट निर्वाचित उपप्रमुख पदका उमेदवारले खर्चको विवरण बुझाएका छन् । इच्छाकामना र खैरहनीबाट भने प्रमुख र उपप्रमुखले नै खर्चको विवरण बुझाएका छैनन् ।
निर्वाचनकै समयमा खर्चको विवरण बुझाउन उमेदवारलाई जानकारी गराएपनि समयसिमा नाघिसक्दा समेत उमेदवारले विवरण बुझाउन नआएको जिल्ला निर्वाचन अधिकृत कार्कीले बताए । विवरण नबुझाउने उम्मेदवारलाई आयोगले सङ्घीय कानुनअनुसार जरिवाना गर्न सक्ने कानुनी व्यवस्था रहेको उनले बताए ।
कुन पालिकामा उमेदवार कति ? खर्चको विवरण कतिले बुझाए ?
स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत दुई हजार २७२ जनाले उमेदवारी दर्ता गरेकामा ३३२ जनाले उम्मेदवारी फिर्ता लिएका थिए । जिल्लाभरका सात पालिकाबाट १ हजार ९५० उमेदवारी दिएका थिए । जसमध्ये भरतपुर महानगरपालिकाबाट उमेदवारी दिएका ५ सय ३५ उमेदवारमध्ये १ सय २२ जनाले खर्चको विवरण बुझाएका छन् ।
त्यस्तै , खैरहनीबाट २ सय ८४ जना उमेदवारमध्ये ८ जना, माडीबाट १ सय ५७ जना उमेदवारमध्ये १ सय २५ जना, कालिकाबाट २ सय १३ जना उमेदवारमध्ये ६६ जना, राप्तीबाट २ सय ६१ जना उमेदवारमध्ये १० जना, इच्छाकामनाबाट ९४ जना उमेदवारमध्ये ४ जना र रत्ननगरबाट ४ सय ६ जना उमेदवारमध्ये ७६ जनाले मात्रै खर्चको विवरण बुझाएका छन् ।