चितवन । रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले असार २५ गते दिउँसो १२ बजे चितवनमा पहिलो जिल्ला भेला गर्ने भएको छ ।
चितवनको हाकिम चोकस्थित चितवन मिड टाउन (सिएमटी) रिसोर्टमा दिउँसो १२ बजे रास्वपाले जिल्ला भेला गर्न लागेको हो । रास्वपाका सभापति रवि लामिछानेले चितवनलाई आधार क्षेत्र बनाएर पहिलो जिल्ला भेला गर्न लागेको बताए । उनले सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देश जारी गर्दै भने, ‘चितवनले एकपटक फेरि मलाई उड्न पखेंटा दिनेछ ।
रित्ता र सुख्खा आँखामा सपनाको मूल भर्ने हाम्रो यो महाअभियानमा चितवन कोसेढुंगा हुनेछ ।’ उनले चितवनमै किन पहिलो भेला गर्न लागेका हुन् यस विषयमा पनि भिडियोमा प्रष्ट पारेका छन् । उनले भनेका छन्, ‘जीवनको कठोर समयमा चितवनले मलाई सत्कर्मका लागि बाटो देखायो। फलामे जञ्जिर चिरेर बाहिरको संसारमा पखेंटा फिँजाउन सिकायो ।’
पत्रकार शालिकराम पुडासैनीको आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोगमा २०७६ सालमा पक्राउ परेका लामिछाने रिहाइका लागि चितवनमा ठूलो मानवसागर उर्लिएको थियो । सो मानवसागर देखेर नै रविले चितवनमा पहिलो भेला गर्न लागेका हुन् ।
इमानको जग बलियो हुँदा जस्तोसुकै जंघार तर्न सकिन्छ भनि आत्मबोध पनि चितवनले गराएको उनको भनाइ छ । उनले भने, ‘त्यही चितवन हो मैले आफू हुनुको अर्थ थाहा पाएँ । जहाँ मैले आफूभित्रको संसार पनि थाहा पाएँ । म सम्झन्छु देशैभरिबाट चितवन आएको त्यो मानव सागर । आशा र भरोसाका एक–एक थोपा मिसिएर बनेको त्यो एक मानव सागर नै त थियो ।’
फेरि मानव सागरमा तैरिन चितवन आउन लागेको लामिछानेले बताए । ‘जसले मलाई मान्छेबाट असफल मान्छेको बाटोमा डोर्याएको थियो । त्यही मानव सागरमा तैरिन म फेरि चितवन आउँदैछु हामी बनेर ।’