चितवन । चितवन जिल्ला पछिल्लो समय मानव बेचबिखन तथा ओसारपसारको ‘ट्रान्जिट पोइन्ट’ (मुख्य केन्द्र) बन्दै गएको दावी गरिएको छ। आज भरतपुरमा शक्ति समूहले आयोजना गरेको बाल संरक्षण तथा मानव बेचविखनविरुद्धको सवालमा स्थानीय सरकारको भूमिका विषयक कार्यशाला गोष्ठीमा प्रस्तुत गरिएको कार्यपत्रले चितवन जिल्ला मानव बेचबिखन तथा ओसारपसारको लागि मुख्य केन्द्रको रुपमा रहेको देखाएको छ ।
विविध प्रलोभनमा पारी वैदेशिक रोजगारी र अध्ययनको शिलशिलामा विदेशमा लगेर मानव बेचबिखन गर्ने क्रम निकै डरलाग्दो अवस्थामा रहेको शक्ति समूह व्यवस्थापन समितिका सदस्य तथा अधिबक्ता दिलिप कोइरालाले बताए । अधिवक्ता कोइरालाका अनुसार चितवनलगायत नेपालमा मानव बेचबिखन तथा बाल संरक्षणको अवस्था निकै दयनीय र भयावह रहेको छ ।
कोइरालाका अनुसार नेपालमा रहेका ४ सय ५० बालगृहमा १२ हजार बालबालिकाहरुले आश्रय लिइरहेका छन । जसमध्ये ८० प्रतिशत भन्दा बढी बालबालिकाहरु अभिभावक सहितका देखिन्छन् । विभिन्न प्रलोभनमा जाने या वैदेशिक रोजगारीमा जाने मध्ये पुरुषहरु बढी मात्रमा बेचिने गरेका छन तर उनिहरु खुलेर आउन नचाहेको देखिन्छ ।
उनका अनुसार प्रति एक सयमा एक जनाको मात्रै उद्वार हुने गरेको छ । नेपालमा काठमाडौ, पोखरा र चितवनमा सबै भन्दा बढी बालगृहहरु सन्चालनमा रहेका छन । बिदेशी पर्यटकको बाहुल्यता बढी रहेको क्षेत्रमा यस्ता खालका बालगृहहरु सन्चालनमा रहेको शक्ति नेपालले जनाएको छ ।
ऐनले पनि देश भित्र एक ठाउँबाट अर्को ठाउँमा मान्छे ओसारपसार गर्ने कार्यलाइ मानव बेचबिखन भनेको छ । कार्यक्रममा भरतपुर १० का अध्यक्ष परमेश्वर खनालले अबैध रुपमा खोलिएका बालगृहहरुमा तत्काल अनुगमन गर्नुपर्ने बताए। उनले मानव बेचबिखन तथा ओसारपसारको ‘ट्रान्जिट पोइन्ट’ मुख्य केन्द्र चितवन बन्दै गएको कुरा सुन्दा निकै दुःख लागेको बताउँदै यस कार्यलाइ तत्काल रोक्न हामी सबै लाग्नुको विकल्प नभएको बताए ।
कार्यक्रमलाई समापन गर्दै उप प्रमुख चित्रसेन अधिकारले मानवले मानवलाइ दुःख दिने कार्य पछिल्लो समयमा भयावह बन्दै गएको भन्दै दुख व्यक्त गरे । उप प्रमुख अधिकारीले मानव बेचबिखन तथा ओसारपसार जस्तो जघन्य अपराधलाई समयमै न्यूनीकरण गर्न नसके यसले बिकराल रुप लिने बताए ।