चितवन । भरतपुर महानगर प्रमुख रेनु दाहालले भरतपुरमा सिंचाई नभएर जग्गा बाझो राख्न नपर्ने बताउनु भएको छ ।
१९ औ राष्ट्रिय धान दिवसको अवसरमा भरतपुर महानगरपालिकाको आयोजना तथा त्रिपुरेश्वर कृषि सहकारी भरतपुर–९ को सहआयोजना भएको कार्यक्रममा मेयर दाहालले सो कुरा बताउनुभएको हो ।
मेयर दाहालले नारायणी लिफ्ट सिंचाई आयोजना कार्यालयमा करिब ३५ करोडको यन्त्र, उपकरणहरु आई पुगेकाले अब भरतपुरका सबै जस्तो ठाँउमा सिंचाईको पहुँच पुग्ने उल्लेख गर्नुभयो । ‘डिप बोरिङहरु कृषकहरुलाई वितरण गरेका छौ । उहाँले भन्नुभयो, ‘स्यालो टुबवेल पनि धेरै ठाँउमा जडान भएको छ । अब सिंचाईको कुनै चिन्ता छैन।’
मेयर दाहालले विगतमा पश्चिम चितवनका केही भूभागमा खडेरीको समयमा सिंचाईको व्यवस्था नहुँदा खेतहरु त्यसै बाँझो रहने गरेको बताउनुभयो । यो समस्याको अन्त्य हुँदैछ । महानगरले कृषिलाई प्रथामिकतामा राखेर कृषिमा व्याज अनुदान कार्यक्रम, गोठ सुधार कार्यक्रम, विभिन्न यन्त्र, उपकरणमा अनुदान लगायतको कार्यक्रमहरु गर्दै आइरहेको पनि जानकारी दिनुभयो ।
कृषिलाई प्रथामिकता दिएकै कारण संघीय सरकार, प्रदेश सरकार र नेपालको ७५३ स्थानीय तहमा नभएको दूधमा ३ रुपैयाँ अनुदान कार्यक्रम सुरु गएको उहाँको भनाई थियो । यसैबीच मेयर दाहालले असार १५ कै अवसरमा भरतपुर ६ इन्द्रपुरीमा एउटा डिपबोरिङ र भरतपुर १५ मा ३० वटा स्याबो टुबवेलको उद्घाटन गर्नुभएको छ ।
चितवन भूमिगत संयोजनात्मक जल सिंचाई आयोजनाले यो आर्थिक वर्षमा मात्रै डिप बोरिङ ३० वटा र स्यालो टुबवेल १८५ वटा सञ्चालनमा ल्याइ सकेको छ । आयोजनाका प्रमुख देवकुमार स्याङबोका अनुसार डिप बोरिङले ३० विघा जग्गालाई सिंचाई गर्न सक्छ भने स्यालो टुबवेलले ४ विघा सिंचाई गर्दछ ।