चितवन। नेकपा (एमाले) को उपमहासचिव प्रदीप ज्ञवालीले सत्ता गठबन्धन निर्वाचनको पक्षमा नभएको बताए । प्रेस चौतारी नेपाल चितवन शाखाले भरतपुरमा मङ्गलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले भने, ‘एमालेको समग्र ध्यान मङ्सिरको निर्वाचनमा लागि हुनेछ।’
उनले जनमतको हिसाबले एमाले पहिलो पार्टीमा स्थापित भएको छ त्यसलाई जोगाउन पार्टीले अहिलेदेखि तयारी गरेको जानकारी दिए । उनले भने, ‘पपुलर जनमत एमालेको पक्षमा छ, त्यही मतको आधारमा पहिलो पार्टी बनेको छ, हाम्रो पक्षमा जनता छन्, यही पपुलर जनमतलाई रक्षा गर्दै हामी अगाडि बढ्नेछौं ।’ उनले अहिले देशको अर्थतन्त्र कोल्याप्स हुने अवस्थामा पुगेको भन्दै सरकारले समयमा नै ध्यान दिन नसके नेपालको अवस्था नाजुक हुने बताए ।
उनले सरकारको कामप्रति टिप्पणी गर्दै बजेट ल्याउदा निश्चित व्यापारीको इसारामा करको दायरा फेरबदल गरेको आरोप लगाए । किसानले मल नपाउनु, विद्यार्थीले पाठ्यपुस्तक पाउन नसक्नु सरकारका ज्वलन्त कमजोरी भएको भन्दै एमालेले खबरदारी गर्दै आएको उनको भनाइ छ ।