चितवन। चितवनको भरतपुरमा दोस्रो मेयर कप राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०७९ सुरु भएको छ । आज उद्घाटन भएको प्रतियोगितामा सात वटै प्रदेशका करिब ३०० खेलाडी सहभागी भएका राष्ट्रिय तेक्वान्दो संघ चितवनले जनाएको छ ।
दुई दिनसम्म चल्ने प्रतियोगितामा महिला र पुरुषको छुट्टाछुट्टै ग्योरीकी (फाइट) र पुम्सेमा प्रतिस्पर्धा हुने राष्ट्रिय तेक्वान्दो संघ चितवनका अध्यक्ष विकास श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा पुरुषतर्फ ग्योरीकीमा ३५ केजीदेखि ७४ केजी तौल समूहसम्म तथा महिलातर्फ ३० केजीदेखि ६३ केजी तौल समूहसम्म प्रतिस्पर्धा हुने श्रेष्ठले बताए । पुम्सेमा भने ब्ल्याकबेल्ट सेकेण्ड डनसम्मका खेलाडीहरुको प्रदर्शन रहने श्रेष्ठको भनाइ छ ।
प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ गरी जम्मा १८ वटा फाइट तथा पुम्सेमा जुनियर र सिनियर गरी चार वटा प्रतिस्पर्धा हुनेछ । दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा विजेताहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने श्रेष्ठले बताए । यसैबीच, प्रतियोगिताको उद्घाटन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरलाई खेलकुदको हब बनाउने उद्देश्यसहित विभिन्न पूर्वाधार बनाउने कार्य भइरहेको बताइन् ।
एक वडा एक खेल मैदान, एक विद्यालय एक खेल मैदान, नगरस्तरीय खेल मैदान, प्रदेशस्तरीय खेलमैदान तथा अन्तर्राष्ट्रिय खेलमैदान निर्माण भइरहेको पनि मेयर दाहालले बताइन् । सो अवसरमा नगर प्रमुख दाहालले खेल क्षेत्रको विकास गर्न महानगरपालिका लागिपरेको बताइन् । खेल क्षेत्रको विकासले देशको नाम उच्च राख्न मद्दत पुग्ने उनको भनाइ थियो ।