काठमाडौं । नेपालमा आउँदो असोजसम्म एक करोड ३७ लाख डोज खोप आउने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार असोजसम्म एक करोड ३७ लाख डोज खोप ल्याउन सकिने अवस्था देखिएको छ । नेपालले अहिले खरिद गरी आउने प्रक्रियामा रहेकोे, विभिन्न मुलुकहरुले अनुदानमा दिएको र कोभ्याक्स कार्यक्रमलगायत गरी असोजसम्म एक करोड ३७ लाख डोज खोप ल्याइने डा. पौडेलले बताए ।
चीनसँग खरिद गरिएको ४० लाखमध्ये आठ लाख डोज खोप नेपाल आइपुगेको छ भने बाँकी खोप यही साताभित्र आइपुग्ने तालिका छ । त्यसैगरी, जापन सरकारले नेपाललई १६ लाख डोज एष्ट्राजेनिका खोप अनुदानमा दिने घोषणा गरिसकेको छ ।
विश्व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रममार्फत कुल एक करोड २० लाख डोज खोप पाउनुपर्नेमा तीन लाख ४८ हजार डोज आइसकेको छ । थप साढे तीन लाख डोज यही जुलाई भित्रै आउने निश्चित भएको स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाहशाखाले जनाएको छ ।
त्यसैगरी, १८ वर्षमुनिका बालबालिकाका लागि ६० लाख डोज फाइजर खोप ल्याउने प्रक्रिया पनि अघि बढाइएको डा. पौडेलले बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोजसम्म कम्तीमा ३० प्रतिशत नागरिकलाई कोभिड–१९ विरुद्धको खोप दिने लक्ष्य राखेको छ । नेपालमा साउन २ गतेसम्म २९ लाख एक हजार ८५० जनाले पहिलो डोज र ११ लाख २६ हजार ८७० जनाले दुवै डोज खोप लगाएको मन्त्रालयको तथ्यांक छ ।