चितवन । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल चितवनले स्थानीय पालिकाहरुलाई आगामी आर्थिक वर्ष २०७९-८० को लागि शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट छुट्याउन माग गरेको छ ।
जिल्लाका पाँच वटा स्थानीय तहमा सुझाव पत्र पेस गर्दै २० प्रतिशत बजेट छुट्याउन माग गरेको हो । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला संयोजक रामचन्द्र आचार्यले पालिकाहरुले शिक्षामा कम्तीमा २० प्रतिशत बजेट छुट्टाउन माग गर्दै सुझाव पत्र पेश गरेको बताए । पालिकामा अन्तरक्रियासंगै सुझाव पत्र पेस गरेको उनले बताए ।
भरतपुर महानगरपालिका, खैरहनी नगरपालिका, राप्ती, रत्ननगर नगरपालिकामा सुझाव पेस गरेको हो । सहभागी जनप्रतिनिधिमध्ये रत्ननगर नगरपालिका मेयर प्रलाद सापकोटा र खैरहनी नगरपालिकाका मेयर शशिकुमार खनियाले शिक्षामा सकेसम्म गुणस्तरीय बनाउन पालिकाले काम गर्ने बताए ।
सार्वजनिक शिक्षामा बजेट विनियोजन बिषयक अन्तरक्रिया तथा सुझाव पत्र हस्तान्तरण गर्दै भरतपुर महानगरपालिका मेयर रेनु दहाल, भरतपुर नगर शिक्षा अधिकारी महेन्द्र प्रसाद पौड्याल , कालिका नगर पालिकाका मेयर बिनोद रेग्मी र राप्ती नगरपालिकाका मेयर शम्शेर लामाको भने कार्यकक्षमा नै मेयरहरुसंग प्रतिबद्धता लिने र सुझाव पत्र हस्तान्तरण गर्ने कार्य गरिएको एनसी नेपाल का जिल्ला सचिव कमलराज खनालले बताए ।
आर्थिक बर्ष २०७९-०८० मा स्थानीय सरकारले बजेट, नीति तथा कार्यक्रममा शिक्षालाई प्राथमिकता दिन र हरेक पालिकाले गुणस्तरीय सार्वजनिक शिक्षामा सुधार गर्न शिक्षा अधिकार तथा सार्वजनिक शिक्षा सुदृढीकरणका पक्षमा क्रियाशिल शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई नेपाल) जिल्ला समन्वय समिति भरतपुरले सार्बजनिक शिक्षामा लगानी वृद्धि गर्नुपर्ने कारणहरु सहित चितवन जिल्लाका सबै स्थानिय तहहरुलाई १० बुँदे सुझावपत्र पेश गरिएको हो । कार्यक्रममा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल का निवर्तमान जिल्ला संयोजक सीताराम भट्ट र कोषाध्यक्ष अनिता नेपालीको महत्वपूर्ण उपस्थिति रहेको थियो ।