चितवन । चितवनको भरतपुर महानगरमा बजेट र नीति तथा कार्यक्रम एकै दिन आउने भएको छ । त्यसैकोलागि अहिले भरतपुर महानगरपालिकामा बजेटको तयारी जोडतोडले चलिरहेको छ।
बालेन्द्र शाहले नेतृत्व गरेको काठमाडौं र धनराज आचार्यले नेतृत्व गरेको पोखरा महानगरपालिकाले बजेट बन्नुपूर्व नै त्यसलाई निर्देशित गर्ने नीति कार्यक्रम नगरसभामा पेस गरेर विधिवत् छलफल गराइसकेका छन्।
भरतपुर महानगरपालिका काठमाडौं र पोखरा महानगरपालिका भन्दा पछाडी देखिएको छ ।
भरतपुर महानगरपालिकामा पनि बजेटको तयारी धमाधम चलिरहेको उपमेयर चित्रसेन अधिकारीले बताए । उपमेयर अधिकारीका अनुसार केही दिनअघि विज्ञ र स्थानीयसँग छलफल गरिएको थियो। बुधबार पनि बजेटकै तयारीका बारेमा छलफल भइरहेको छ।
अधिकारी भन्छन्, ‘हामी १० गते बजेट ल्याउने तयारीमा छौँ। सोही दिन नीति तथा कार्यक्रम पनि आउँछ। तयारीका लागि अहिले पनि बैठक चलिरहेको छ।’
उपमेयर अधिकारीका अनुसार संविधानले दिएको समयसीमा आगामी ३० असारसम्म बजेट पारित गराउनेगरी काम अघि बढ्नेछ। १० गते बजेट प्रस्तुत भएपछि ११ र १२ गते बजेटमाथि छलफल हुनेछ।