चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ‘मेयर होस् त यस्तो होस्’ भन्ने बनाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बुधबार भरतपुर वडा नंं ७ मध्यविन्दु टोलस्थित प्रेमबस्ती कवर्ड हलको शिलान्यास कार्यक्रममा मेयर दाहालले सो कुरा बताएका हुन् ।
भरतपुरवासीहरुको चाहाना तीव्र विकास, सुशासन, पारदर्शी रहेकाले विगतको अनुभवका आधारमा यो पाँच वर्षको लागि मैदान उत्रिसकेको प्रमुख दाहालले बताइन् । ‘सबै पक्षले मलाई अत्याधिक मत दिनुभएको छ, उनले भनिन्, ‘यसको लागि म ऋणु छु । यो मेरो अन्तिम कार्यकाल हो । मैले चाहेर पनि फेरि मेयर हुन पाउँदिन। समय पनि धेरै छ । काम पनि धेरै गर्न बाँकी छ । सकेको राम्रो गर्छु ।’
विकासका लागि महत्वकांक्षी भएकै कारण पहिलो कार्यकालमा भरतपुरमा सोचेको भन्दा बढी बजेट ल्याउन र विकास गर्न सकेको उनको भनाइ छ । ‘विकासका लागि महत्वकांक्षी हुनुपर्छ’ उनले भनिन्, ‘महत्वकांशी नभएर पनि हुँदैन । हुटहुटी हुनुपर्छ, सक्रिय हुनुपर्छ । चुप लागेर माथिबाट आएको बजेटको भर परे भए यति विकास हुने थिए । स्रोतको सुनिश्चिता नहुँदानहुँदा पनि धेरै काम अगाडि बढाएका थियौँ ।’
मेयर दाहालले दोस्रो कार्यकालको लागि निर्वाचनको मत परिणाम नआउँदै भरतपुरको विकासको बारेमा चिन्तित भई राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलसँग कुराकानी भएको उल्लेख गरे। सो कुराकानीका बारेमा असार ३ गते आयोजना भएको बृहत विकाससम्बन्धी बहस कार्यक्रममा उपाध्यक्ष पौडेलले मुक्तकण्डले मेयर दाहालको प्रशंसा गरेका थिए।