चितवन । सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न सकेको छैन । निरन्तर पेट्रोलियम पदार्थको मूल्य अकासिएको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको असर हरेक क्षेत्रमा परेको छ । खाद्यान्नदेखि निर्माण सामग्रीको मूल्य वृद्धि भइरहेको छ ।
अहिले पेट्रोलको मूल्य १९९ र डिजलको मूल्य १९२ रुपैयाँ पुगेको छ । अझ बढ्ने आंकलन गरिएको छ ।
मूल्यवृद्धि भएसँगै यसको प्रत्यक्ष मारमा उपभोक्तामा परेको छ। मूल्यवृद्धिको प्रत्यक्ष मारमा दैनिक उपभोग्य सामग्री खरिद गर्ने उपभोक्ताहरु परेका छन् ।
पेट्रोल डिजेलको भाडा बढेसँगै यातायात व्यवस्था विभागले अन्तरप्रदेश यात्रुवाहक तथा मालवाहक यातायातमा अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको छ । यातायात भाडा र पेट्रोलको वृद्धिले दैनिक स्कुल कलेज जाने विद्यार्थीदेखि दैनिक कार्यालय जाने कर्मचारीसम्मको ढाड सेकिएको छ ।
जनताको ढाड सेकिने गरी पटक–पटक मूल्यवृद्धि भइरहँदा यसको विरुद्ध आवाज निकै कम उठेको छ । पेट्रोलियम पदार्थमा एकै पटक २७ रुपैयाँले मूल्यवृद्धि हुँदा समेत चितवनका विद्यार्थी संगठन मौन जस्तै बनिरहेका छन् ।
विद्यार्थी संगठनहरु यसविरुद्ध सशक्त ढंगले आवाज उठाउनु पर्ने हो। तर, बुद्धिजीवी वर्गका विद्यार्थी संगठनहरु नै राजनीतिको खोल ओडेर बसेका छन् । जनजीविकाका विषयमा केही परे सशक्त आवाज उठाउने विद्यार्थी संगठन पनि पछिल्ला समयमा सुस्त बनेका छन् ।
विद्यार्थी संगठनहरु नै हाम्रो र अर्काको सरकार भन्दै पक्ष विपक्षमा देखिएका छन् । सत्तारुढ नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ नेविसंघ चितवन परेको खण्डमा आन्दोलन गर्ने बताउँछ । त्यस्तै, माओवादी निकट अखिल क्रान्तिकारी चितवन पनि सरकारलाई दबाब दिन आलटाल गर्दै छ । यता सत्ता विपक्षी एमाले निकट अनेरास्ववियु चितवनले भने आफूहरु सशक्त आन्दोलनमा रहेको बताउँछ।
यस्तो छ चितवनका सत्ता र विपक्षी निकट विद्यार्थी संगठनका अध्यक्षको भनाइः
नेपाल विद्यार्थी संघ (नेविसंघ) चितवन, अध्यक्ष सूर्य ढकाल
विगत तीन वर्षदेखि विश्वव्यापी रुपमा नै महँगी बढेको छ । नेपालमा पनि मूल्यवृद्धि अकासिएको छ । जनता दैनिक आधारभुत आवश्यकता पूरा गर्न नसक्ने अवस्थामा पुगेका छन् । यस्तो परिस्थिमा परनिर्भरतालाई हटाएर आत्मनिर्भर बन्न जरुरी छ । नेविसंघ चितवनले पहाड फुटाउने जस्ता ठूला कुरा गर्दैन । एक्लै विद्यार्थी संगठनले मूल्यवृद्धि फिर्ता लिन सक्दैन । आवश्यक परेको खण्डमा प्रशासनदेखि सबै निकायलाई झकझकाउँदै नेविसंघ लाग्नेछ । आन्दोलनका कुनै कार्यक्रम बनाएका छैनौँ । अहिले आन्दोलनमा जाने तयारी पनि छैन ।
अखिल क्रान्तिकारी चितवन, संयोजक अविनाश रम्तेल
हरेक क्षेत्रमा महँगी बढेको छ । हामीले मूल्यवृद्धि विरुद्ध विज्ञप्ति नै जारी गरिसकेका छौँ । मूल्यवृद्धि फिर्ता भएन भने केही दिन पछि चरणवद्ध रुपमा आन्दोलन गर्ने हाम्रो योजना छ । अहिले आन्दोलनका कार्यक्रमहरु हामीले गरेका छैनौँ । सरकारलाई दबाव दिने कुरामा हामी विचार गर्दैछौँ । कसरी अगाडि बढ्ने भनेर छलफलमै छौँ ।
अनेरास्ववियु चितवन, संगठन विभाग प्रमुख प्रकाश कालाखेती
अनेरास्ववियुले आन्दोलनका कार्यक्रमहरु सुरु गरिसकेको छ । हामीले निरन्तर सरकारलाई दबाव दिँदै आएका छौँ । हामीले मूल्यवृद्धि विरुद्ध हिजो पनि आन्दोलनमा गयौँ र अहिले पनि आन्दोलनकै चरणमा छौँ । जिल्लाभर रहेका नगर कमिटी र जनसमुदायलाई उजागर गरी मूल्यवृद्धि फिर्ता गर्नतर्फ लाग्न अपिल समेत गरेका छौँ । मूल्यवृद्धि फिर्ता नभएसम्म अनेरास्ववियुले आन्दोलन लगायत विभिन्न माध्यमबाट सरकारलाई दबाव दिइरहेका छौँ, हामी आन्दोलनमै छौँ । सबैलाई आन्दोलनमा सरिक हुन अपिलसमेत गरेका छौँ ।