चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगर क्षेत्रभित्र छिट्टै नै ७ हजार ५ सय स्मार्ट सडक बत्ती जडान सम्पन्न हुने बताउनुभएको छ । चितवन उद्योग संघले मंगलबार भरतपुर महानगरपालिकाको सभा हलमा आयोजना गरेको प्रमुख तथा उप–प्रमुखलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै प्रमुख दाहालले सो कुरा बताउनु भएको हो ।
प्रमुख दाहालले नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको सहकार्यमा २ सय ५० किलोमिटर सडकमा ७ हजार ५ सय स्मार्ट सडक बत्ती जडान कार्य भइरहेको जानकारी दिनुभयो । महानगरको आगामी विकास निर्माणका विषयमा विषयगत क्षेत्रसँग गहन छलफल चलिरहेको उल्लेख गर्नुभयो । प्रमुख दाहालले व्यवसाय र घरबाहाल करलाइ व्यवस्थित बनाउन चितवन उद्योग संघलाई आग्रह गर्नुभयो । करको दायरालाइ व्यवस्थित गर्ने सवालमा सबैलाई एकै ठाउँमा उभिन पनि प्रमुख दाहालले आग्रह गर्नुभयो ।
कार्यक्रममा संघले भरतपुर महानगरपालिकाको समृद्ध विकासको लागि केही नीतिगत सुझावहरु समेत दिएको छ । संघले औद्योगिक ग्राम स्थापना र नेपालकै पहिलो औधोगिक पाठशालालाइ सहयोग गर्नुपर्ने, सडकमा भएका बिजुलीका तार र टेलिफोनका तारहरुलाइ संरक्षण गर्न महानगरको ध्यानाकर्षण गराएको छ ।
त्यस्तै हाटबजारमा स्थानीय उत्पादनले प्राथमिकता पाउनुपर्ने, महानगरको वेभ पोट्रलमा स्थानीय उत्पादनको बारेमा तथ्यांक राख्ने वातावरण मिलाउने लगायतका विषयमा महानगरले सहयोग गर्न संघले आग्रह गरेको छ । कार्यक्रममा महानगर शैक्षिक माहाशाखाका प्रमुख महेन्द्र पौडेल, भरतपुर १० का वडा अध्यक्ष परमेश्वर खनाल, भरतपुर–१२ का वडा अध्यक्ष लेखराज पन्त, भरतपुर–१५ का वडा अध्यक्ष श्रीकृष्ण देवकोटा र भरतपुर–२६ का वडा अध्यक्ष ज्ञानप्रसाद खनालको उपस्थिति रहेको थियोे ।