चितवन । केही दिनदेखि भरतपुर विमानस्थलमा कर्मचारी र विमानस्थल प्रशासनबिच कर्मचारी सरुवाको विषयमा भएको विवाद अझै सुल्झिएको छैन् ।
विगत लामो समयदेखि कार्यरत दुई जना सामान्य कर्मचारी सीता देवकोटा र सरिता लामिछानेको सरुवा गर्ने विषयमा भएको विवादको समस्या समाधान हुन नसकेपछि आज विमानस्थलमा अखिल नेपाल ट्रेड युनियन महासंघ भरतपुरले धर्ना बसेको छ ।
१७ वर्षदेखि सामान्य कर्मचारीको रुपमा विमानस्थलमा सरसफाइको काम गर्दै आएकी देवकोटा र लामिछाने तीन वर्षदेखि बज्र सेक्युरिटीज कम्पनी मार्फत काम गर्दै आएका छन् ।
बज्रले उनीहरुलाई भरतपुरबाट भैरहवा स्थानतरण गरेको छ । यसप्रति कर्मचारीले असन्तुष्टि व्यक्त गर्दै आएका छन् । सोही कारण विमानस्थलमा गत शुक्रबार कर्मचारीले सरसफाइको काम अवरोध समेत गरेका थिए ।
भरतपुर विमानस्थलको सरसफाइ व्यवस्थापनमा कर्मचारीको ध्यान गएको छैन । विमानस्थल सरसफाइमा बज्र कम्पनीले ठेक्का लिएको छ । बज्रकै कर्मचारीले राम्रोसँग काम गरेका छैनन् । विमानस्थल अनुगमन टोलीले अनुगमन गर्न आउँदा सरसफाइ व्यवस्थापन राम्रो नभएपछि बज्रले आफ्नो कर्मचारी सरुवा गरेको हो ।
न्यौपाने र लामिछानेको भैरहवा सरुवा गरेसँगै बज्रले गत जेठ २७ गतेदेखि भैरवा सरुवा गरी भरतपुरका लागि भैरहवाबाट कर्मचारी पठाएको छ । तर, भरतपुरबाट उनीहरु भैरहवा सरुवा हुन नमानेपछि विवाद चुलिन पुगेको हो ।
विमानस्थल सरसफाइमा बज्र सेक्युरिटीजमार्फत खटिएका कर्मचारीले कार्यालयको नियम अनुसार काम नगरेको भरतपुर विमानस्थलका प्रमुख प्रवेश आलम सिद्धिकीले बताए । उनी भन्छन्, ‘भरतपुर विमानस्थलको सरसफाइ व्यवस्थापनमा कर्मचारीको ध्यान गएको छैन । विमानस्थल सरसफाइमा बज्र कम्पनीले ठेक्का लिएको छ । बज्रकै कर्मचारीले राम्रोसँग काम गरेका छैनन् । विमानस्थल अनुगमन टोलीले अनुगमन गर्न आउँदा सरसफाइ व्यवस्थापन राम्रो नभएपछि बज्रले आफ्नो कर्मचारी सरुवा गरेको हो ।’
अखिल नेपाल ट्रेड युनियन महासंघ भरतपुर महानगरका अध्यक्ष नवराज लामिछानेले श्रमिकको हक हित अनुसार काम नभएको आरोप लगाएका छन् । उनले भने ‘विमानस्थलमा काम गर्ने सामान्य कर्मचारीलाई आफ्नो अनुकुलता मिलाएर काम लगाउन खोजियो । सामान्य कर्मचारीलाई पनि निजामती कर्मचारीलाई जसरी सरुवा गर्न खोजियो । सेवा सुविधा नबढाउने तर अनेकौँ बाहानामा कर्मचारी सरुवा गर्न दिन हामी तयार छैनौँ ।’
यस विषयमा अखिल नेपाल ट्रेड युनियन संघ, भरतपुर विमानस्थल र बज्र सेक्युरिटीजबिच त्रिपक्षिय बैठक बसी भरतपुर बाट कर्मचारी सरुवा पूर्नबहाली गर्नुपर्ने संघले माग गरेको लामिछानेले बताए । उक्त विषयमा विमानस्थल प्रमुख र बज्रले बैठक बस्न नमानेको उनको आरोप छ ।
बज्र सेक्युरिटीज के भन्छ ?
बज्र सेक्युरिटीज कम्पनीका सिइओ उद्धव चौलागाइँले कर्मचारी सरुवाबारे लिखित सम्झौता नभएको बताएका छन् । कुनै पनि कम्पनीलाई आफ्नो कर्मचारी एक ठाउँबाट अर्को ठाउँमा स्थानतरण गर्न पाउने अधिकार भएको भन्दै कम्पनीले कर्मचारी हेरफेर गरेको बताए ।
भरतपुर विमानस्थलमा पहिलेदेखि नै कर्मचारीको काममा समस्या आएको उनले बताए । ‘भरतपुर विमानस्थल सफाइका विषयमा पछिल्लो समय समस्या देखिएको छ । भरतपुर विमानस्थलमा भिआइपी गेष्टहरुको आवागमन धेरै हुने भएका कारण त्यहाँको सरसफाइ व्यवस्थापन मूख्य कुरा हो । उहाँहरुको काममा भएको कमजोरीकै कारण भैरहवा पठाउन लागिएको हो ।’ उनीहरुलाई केही समयका लागि भैरहवा पठाउने र काम सिकाएर पुनः भरतपुर पठाइने उनले बताए ।