चितवन । भरतपुर महानगरको मेयरमा पुन रेनु दाहालको आगमन भएको एक महिना पुग्नै लागेको छ । यतिबेला भरतपुर महानगर नगर सभाको तयारीमा रहेको छ ।
नगरसभाको पूर्वसन्ध्यमा भरतपुर महानगरपालिकाले विज्ञसँग सुझाव संकलन गरिरहेको छ । अबको पाँच वर्षपछिको भरतपुर कस्तो बन्ला ? सबैलाई जिज्ञासा लागेको छ । भरतपुर महानगरपालिकाको आगामी असार १० गते ११ औँ नगरसभामा अबको पाँच वर्ष पछिको भरतपुरको केही छनक दिने भएको छ । भरतपुर महानगरपालिकाले समृद्ध भरतपुर महानगरको आगामी कार्यदिशा विषयक अन्तरक्रिया कार्यक्रमसमेत गरिसकेको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर महानगरलाई कस्तो बनाउने भनेर कार्यपत्रसमेत प्रस्तुत गरिसकेकी छन् ।
भरतपुर देशकै मध्येभागमा रहेका कारण धेरैले भरतपुरको विकास अवलोकन गरिरहेका छन् । अहिलेको बजेट भाषणमार्फत पनि भरतपुरमा थप बजेट परेको अनुभव भइरहेको छ । प्रायः भरतपुरका सडकहरु कालोपत्रे भइसकेका छन् । तर व्यवस्थित ढल व्यवस्थापन हुन सकिरहेको छैन । अबको पाँच वर्षमा भरतपुरको २९ वडाहरुमा फोहोर व्यवस्थापन र ढल व्यवस्थापन भएमात्र पनि पग्ने यहाँको जनताले बताइरहेका छन् ।
भरतपुरबासीले यहाँको विकासमा कुन कुन विषय समावेश गर्न सकिन्छ भन्नेबारे सुझाव संकलनमा पनि ढल र फोहोर व्यवस्थापनको समस्या समाधान गर्न महानगर प्रमुख रेनु दाहाललाई आग्रह गरेका छन् । भरतपुरको कुनाकुनामा फोहोर ढल व्यवस्थापन भएमात्र यसको मुहार फेरिने यहाँको जनताको भनाइ छ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले निर्वाचनमा गरेका प्रतिवद्धता अबको भरतपुर महानगरपालिको कार्यदिशा हुने बताएकी छन् ।
प्रमुख दाहालले कार्यपत्रमा महानगरमा निर्माणाधिन योजनाको निरन्तरता र केही बाँकी रहेका कामहरुलाई प्राथमिकता दिइने बताइन् । कार्यपत्रमा समावेश नभएका विषयहरुलाई प्रथामिकताको आधारमा नीति तथा कार्यक्रम र नगरसभामार्फत सम्बोधन गरिने उहाँले बताउनुभयो ।
दाहालले अबको पाँच वर्षमा भरतपुरमा व्यवस्थित ढल विकास सञ्जाल निर्माण, राप्ती तथा नारायणी नदीको तटबन्धको पूर्णता, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेटशालाको पूर्णता, एरपोर्ट विस्तार, महानगरपालिका प्रशासनीय भवन निर्माण, नरायणीमा सिग्नेचर पुल तथा पश्चिम चितवन र नवलपरासी जोड्ने पक्की पुल निर्माण भइसक्ने बताइन् ।
उनले अबको पाँच वर्षभित्र शीत भण्डार निर्माण, राप्ती तटबन्ध, ओभरहेड ब्रीज, ट्राफिक लाइट, स्मार्ट सत्ता चालन, अटो ल्यान्ड, नगरस्तरीय पार्क, देवनगरीय विद्युत सवस्टेशन लाईन निर्माणलाई पूरा गर्ने बताइन् । भरतपुर महानगरपालिकाले अबको पाँच वर्षमा सीपलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोडी बजारको माग र आवश्यकताको ख्याल गरी शैक्षिक कार्यक्रम अघि बढाउने प्रमुख दाहालले बताइन् । उनले सबै उत्पादनलाई ब्राण्डिंग गरी ‘मेड इन भरतपुर’ को अभियान चलाइने उनको भनाइ थियो ।