चितवन । भरतपुर विमानस्थलमा कार्यरत कर्मचारीलाई सरसफाइमा अवरोध गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको छ । विमानस्थलमा कार्यरत दुई कर्मचारी सीता देवकोटा र सरीता लामिछानेलाई शुक्रबार चितवन प्रहरीले नियन्त्रणमा लिएको हो ।
देवकोटा र लामिछाने विगत १७ वर्षदेखि भरतपुर विमानस्थलमा सरसफाइको काम गर्दै आएका थिए । विमानस्थलले सम्झौतापत्रको नियम उल्लंघन गर्दै आफुहरुलाई भरतपुरबाट भैरहवा सरुवा गर्न लागेको भन्दै उनीहरुले आज बिहान सरसफाइको काममा अवरोध गरेका थिए ।
ब्रज कम्पनीबाट विमानस्थल कार्यालय सरसफाइमा परिचालन गरिएका उनीहरु भैरहवा सरुवा हुन मानेका छैनन् । उनीहरु भन्छन् ‘विमानस्थलमा हामी १७ वर्षदेखि काम गर्दै आएका छौँ । हामीलाई यहाँबाट अन्त नपठाउने भनि सम्झौता गरिएको थियो । अहिले जबरजस्ति हामीलाई यहाँबाट भैरहवा पठाउन लागिएको छ । सम्झौता बिपरीत गरिएको सरुवा हामी मान्न तयार छैनौँ ।’
यता विमानस्थलले भने उनीहरु आफ्नो कर्मचारी नभएको भन्दै सरुवा गर्नुमा विमानस्थलको हात नरहेको विमानस्थल प्रमुख प्रवेश आलम सिद्धिकीले जानकारी दिए । उनले भने, ‘बज्र कम्पनीले विमानस्थल सरसफाईको ठेक्का लिएको छ। कर्मचारी हेरफेर बज्रले नै गर्छ। उनीहरुको सरुवा हामीसँग सम्बन्धित होइन।’
बज्र कम्पनीसँग यस विषयमा हामीले बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।