चितवन । रत्ननगर ११ जिरौनाका एक युवक अष्ट्रेलिया गएको ६ महिनामै मृत भेटिएका छन् । २१ वर्षका समिर कोइराला अष्ट्रेलियाको मेलवर्न सहरमा आफ्नो डेराभित्र मृत अवस्थामा भेटिएका हुन् ।
उनीसँगै अष्ट्रेलिया गएका रत्ननगरका शिशिर पौडेलले चितवन प्रेससँगको कुराकानीमा भने, ‘दुःखद घटना भयो, नेपालबाट सँगै आएका मेरा मित्र समिर कोइराला कोठाभित्र मृत अवस्थामा फेला परेका हुन् ।’ उनका अनुसार समिर हिजो बुधबार दिउँसो साढे १२ बजे नेपाली समयअनुसार कोठामै मृत भेटिएका हुन् ।
उनले समिरको शव नेपाल पठाउन पनि आर्थिक समस्या भइरहेको बताए । उनले जिरौनास्थित उनका बाबु शिवराज कोइराला छोराको मृत्युको खबरले बिहोस् भएका छन् । बेहोस् भएका बुबालाई भरतपुर अस्पतालमा भर्ना गरिएको छ । जिरौनास्थित समिरका आफन्त, साथीभाइहरु यतिबेला शोकमा डुबेका छन् । जिरौनाको घरमा जम्मा भएका उनका आफन्तहरु केही बोल्न सकिरहेका छैनन् । समिर ६ महिनाअघि मात्रै ऋणधन गरेर अध्ययनका लागि अष्ट्रेलिया आएका शिशिर बताउँछन् । समिर केही महिना अष्ट्रेलियामै काम गरेर तनावका कारण बीचमै जागिर छोडेका थिए ।
बस्ने ठाउँबाट काम गर्ने ठाउँ टाढा, त्यसमा पनि सोचेअनुसारको काम नपाइएको र कमाइ पनि राम्रो नहुँदा समिर केही समयदेखि मानसिक तनावमा रहेका उनका साथी शिशिरले चितवन प्रेससँग बताए ।
‘अमेरिकामा बस्दै आएका समिरका मामाले उनको तनावको अवस्थाबारे थाहा भएर नेपाल पठाउन खोज्दाखोज्दै यस्तो घटना भयो’ शिशिरले भने । समिरको निधनको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । समिरका एक भाइ नेपालबाट अष्ट्रेलिया जानकै लागि तयारी गरिरहेका बेला अष्टेलियामा दाजु मृत भेटिएका उनले बताए ।
ऋण खोजेर समिरलाई अष्ट्रेलिया पठाएका उनको परिवारले शव झिकाउन सकिरहेका छैनन् । आर्थिक अवस्था ज्यादै कमजोर रहेको समिरका परिवार एनआरएनए अष्ट्रेलियाले पहल गरिरहेको एनआरएनए अष्ट्रेलियाका प्रवक्ता उमेश खड्काले सहयोग जुटाउने काम भइरहेको बताए ।