चितवन। चितवन राष्ट्रिय निकुञ्जले पर्यटकीय गतिविधिमा आजदेखि रोक लगाएको छ । निकुञ्जभित्र सञ्चालन हुने व्यावसायिक जंगल सफारी र जंगल वाकलगायत अन्य पर्यटकीय गतिविधिमा आजदेखि रोक लगाइएको हो ।
निकुञ्जका अनुसार वर्षाका कारण कच्ची वनपथहरु बिग्रिने, जंगलमा भएका स–साना खोल्साखोल्सीमा भलबाढी आउने भएकाले उक्त निर्णय गर्नुपरेको हो । साथै, रुख ढलेर बाटो अवरुद्ध हुन सक्ने एवम् मानवीय क्षतिसमेत हुने सम्भावना बढेकाले उक्त निर्णय गर्नुपरेको निकुञ्जले जनाएको छ ।
निकुञ्जले अनिश्चितकालकालागि यी ‘पर्यटकीय गतिविधिहरुमा रोक लगाएको जानकारी दिएको हो । निकुञ्जले जारी गरेको सूचनामा भनिएको छ, ‘पर्यटकीय गतिविधिहरु २०७९ असार १ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको जानकारी गराइन्छ ।’
यस अघिपनि निकुञ्जले सूचना जारीगर्दै असार १ गतेबाट निकुञ्जमा पर्यटकीय गतिविधिहरु गर्न रोक लगाउने बताएको थियो ।