चितवन । जिल्ला समन्वय समिति चितवनको निर्वाचन भोलि मंगबार हुने भएको छ । चितवनमा जिसस प्रमुखमा दुई जनाको उमेदवारी दर्ता भएको छ । पाँच दलीय गठबन्धनबाट पूर्णबहादुर रानाभाट र नेकपा एमालेबाट नारायण अधिकारी प्रतिस्पर्धामा रहेका छन् ।
चितवनमा गठबन्धनको र नेकपा एमालेको बराबर मत छ । पहिलो चरणमा हुने मतदानमा मत बराबर आएमा दोस्रो चरणमा गोलाप्रथा हुने निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले बताए । उनका अनुसार चितवनमा गठबन्धन र नेकपा एमालेको बराबरी मत रहेको छ।
भरतपुर महानगर र राप्ती नगरपालिकाको प्रमुख र उपप्रमुखमा गठबन्धनका उमेदवार विजयी भएका छन् । इच्छाकामना र कालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उमेदवार विजयी भएका हुन् । खैरहनीमा प्रमुख गठबन्धनबाट र उपप्रमुख एमालेका छन् । रत्ननगरमा प्रमुख गठबन्धन र उपप्रमुख एमालेका छन् । माडीमा प्रमुख एमाले र उपप्रमुख गठबन्धनका छन् ।
यसरी हिसाब गर्दा गठबन्धनबाट ७ र एमालेबाट ७ मत छ । पहिलो चरणको भोटिङमा बराबर मत आए गोलाप्रथा हुने देखिन्छ । गठबन्धनबाट एकीकृत समाजवादीकी उम्मेदवार कल्पना काफ्ले सापकोटा उपप्रमुखमा निर्विरोध निर्वाचित भइसकेकी छन् । तीन जना खुला सदस्यमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका अर्जुन भण्डारी, धर्मलाल देवकोटा र कांग्रेसका संजीव पौडेलको उम्मेदवारी दिएका छन्। एमालेबाट कृष्णभक्त भट्टराई, बाबुराम सुवेदी र लक्ष्मीनारायण चौलागाईले उम्मेदवारी दिएका छन् ।
महिला सदस्यमा गठबन्धनबाट कांग्रेसकी अनिता चौधरी, नेकपा एसकी पूजना गुरुङ र माओवादी केन्द्रकी सुमित्रा तामाङ श्रेष्ठको उमेदवारी परेको छ । एमालेबाट अनिता नेपाल र सविता चौधरीले उम्मेदवारी दिएका छन् । एक दलित वा अल्पसंख्यक सदस्यका लागि कांग्रेसले केशरी माया सुनार र माओवादी केन्द्रले गुनु विकलाई उम्मेदवार बनाएको छ ।