चितवन ।कपरफोरी बालुवाटार विपद् जोखिम न्यूनिकरण समाजको आयोजना तथा रत्ननगर नगरपालिका ९ नं वडा कार्यालयको सहयोगमा आयोजित वडा स्तरिय विपद जोखिम व्यवस्थापन अभिमुखिकरण एक दिने तालिम आज (शनिबार) सम्पन्न भएको छ ।
कपरफोरी बालुवाटार विपद् जोखिम न्यूनिकरण समाजका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकोटा रहेका थिए । त्यस्तै, विशिष्ट अतिथिमा नेपाली सेनाका प्रमुख सेनानी मनबहादुर लामा, रत्ननगर ९ का वडाध्यक्ष अन्नत अधिकारीलगायत रहेका थिए ।
कार्यक्रममा बोल्दै मेयर सापकोटाले विपद् जोखिम न्यूनिकरणमा आफनो र नगरपालिकाको विशेष ध्यान रहेको भन्दै विपद् व्यवस्थापनमा आफु कहिल्यै नचुक्ने जिकिर गरे । मेयर सापकोटाले आफु नगरप्रमुख भएको धेरै दिन नभएको बताउँदै अब आउने दिनहरुमा नगरपालिकालाई भष्टाचार मुक्त बनाउने बताउँदै, उनले भने ‘कुनै आर्थिक लोभमा नफसी काम गर्छु भष्टाचार मुक्त बनाउँछु, शिक्षा र स्वास्थमा सुधार ल्याउन विशेष जोड दिनेछु ।’
त्यस्तै, नेपाली सेनाका प्रमुख सेनानी लामाले विपद्को बेला नेपाली सेना भन्दा पनि छिटो छरछिमेक पुग्ने भएकाले, जोखिम र विपद्का बेला सबैले हातेमालो, एकअर्कालाई सहयोग गर्दै अघि बढे विपद्को सामना सजिलै गर्न सकिने बताए । उनले विपद्का बेला सर्वसाधारण जनताले नेपाल प्रहरी, नेपाली सेना र नगरपालिकालाई साथ दिन समेत अनुरोध गरे ।