चितवन ।नेकपा (एमाले) निकटका विद्यार्थी संगठन अनेरास्ववियू र युवा संघद्धारा चितवनमा प्रधानन्यायधिशको पुत्ला दहन गरेका छन ।
सर्वोच्च अदालतले आज संसद विघटन बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परामादेश गर्ने फैसला गरेपछि प्रधानमन्त्री ओली पक्षीय विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।
भरतपुरको चौविसकोठीमा प्रधानन्यायधिश चोलेन्द्र शमशेर राणाविरुद्ध चर्को नारा लगाउँदै विरोध प्रदर्शन गरेका थिए । उनीहरुले प्रधानन्यायधिश राणाको पुत्ला समेत जलाएका छन् । प्रहरीले तत्कालै पुत्ला निभाएको थियो । पुत्ला जलाउने क्रममा दुई विद्यार्थी आगोले पोलेर सामान्य घाइते समेत भएका छन् । आक्रोशित विद्यार्थीहरुले प्रधानन्यायधिशलाई देश निकाला गर्ने नारा लगाएका थिए ।
पुत्ला जलाउनुअघि आयोजित विरोधसभामा एमाले चितवनका नेताहरुले पार्टी एकीकरण गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकै कारण देशमा यो अवस्था सिर्जना भएको भन्दै अदालतले गरेको निर्णयको विरोध गरेका थिए । सो क्रममा केन्द्रीय नेताहरु, जिल्ला नेताहरु रामप्रसाद न्यौपाने, प्रकाश आचार्यलगायतले सम्बोधन गरेका थिए ।