चितवन । भर्खरै स्थानिय निर्वाचन सकियो मंसिरमा आम निर्वाचन हुदैछ । अब हुने आम निर्वाचनमा निर्वाचन आयोग केही भिन्न रुपमा प्रस्तुत हुने तयारीमा छ ।
निर्वाचन आयोगको सूचना प्रविधि महाशाखाले काठमाडौं उपत्यका र बाहिर महानगरपालिका रहेका जिल्लामा विद्युतीय मतदान गराएर आवश्यक पर्ने पूर्वाधार र स्रोतसाधनको गृहकार्य गरिरहेको छ ।
निर्वाचन आयोगको अनुसार काठमाडौं उपत्यकासहित महानगरपालिका रहेका जिल्लामा विद्युतीय मतदानको प्रस्ताव सरकारलाई बुझाउने तयारीमा आयोग जुटिरहेको छ । चितवनमा पनि भरतपुर महानगरपालिका पर्दछ ।
आयोगले छिटै विद्युतीय मतदान यन्त्र खरिद गरिदिन सरकारलाई प्रस्ताव पठाउनेछ । प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष र समानुपातिक गरी एउटा मतदान केन्द्रमा चारवटा मेसिन आवश्यक पर्नेछ ।
आयोगले गरेको प्रस्ताव उपयुक्त लागेमा आयोगकाले बताए अनुसार, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मोरङ, पर्सा र कास्कीमा विद्युतीय मतदान आवश्यक पर्नेछ ।
यी सात जिल्लामा १ हजार ११८ मतदानस्थल छन् । सबै शहरी र सघन बस्ती भएका मतदानस्थल भएकाले एउटामा एकभन्दा बढी मतदानकेन्द्र पर्नेछन् । हरेक मतदान केन्द्रमा चारवटा मेसिन आवश्क पर्ने छ ।
निर्वाचन आयोगले ढिलोमा आगामी १० मंसिर भित्र मतदान सक्नेगरी प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको अनौपचारिक तयारी थालेको छ । निर्वाचनमा ७ जिल्लामा मात्रै १० हजारको हाराहारीमा विद्युतीय मेसिन आवश्यक पर्ने देखिन्छ ।