चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १२ को वडाध्यक्षमा गठबन्धन पराजित भएको छ । उक्त वडामा नेकपा एमालेबाट उमेदवार लेखराज पन्त (हरि) निर्वाचित भएका छन् ।
पन्तले आफ्ना निकटतम प्रतिद्वन्द्वी गठबन्धन तर्फबाट कलम चिह्नका उमेदवार नरेन्द्रकुमार कन्दङवालाई ४ सय २४ मतको अन्तरले पराजित गरेका हुन् ।
उक्त वडामा ४ हजार ४ सय २४ मत खसेको थियो । जसमध्ये पन्तले २ हजार २ सय ४० मत ल्याएका छन् भने कन्दङवाले १ हजार ५ सय ६६ मत प्राप्त गरेका छन् ।
भरतपुर १२ नेकपा माओवादी केन्द्रका चितवन जिल्ला संयोजक रामचन्द्र अधिकारी र माओवादी केन्द्रकी नेतृ तथा चितवन क्षेत्र नम्बर ३ का संसद पुष्पकमल दाहाल ‘प्रचण्ड’की स्वकीय सचिव निशा न्यौपानेको वडा हो । माओवादीका जिल्ला संयोजक अधिकारी र नेतृ न्यौपानेकै वडामा गठबन्धन एमालेसामु पछारिएको छ ।
जिल्ला संयोजक अधिकारी विगतमा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी ) बाट राजनीतिमा उदाएका थिए । पराजयसँगै अधिकारीले आफ्नो वडामा गठबन्धनको साख जोगाउन सकेनन् ।
नेकपा माओवादी केन्द्रकी जिल्ला इन्चार्ज रेनु दाहाल अहिले मेयर पदको प्रत्यासी छिन् ।