चितवन । भरतपुर महानगरपालिकाको हालसम्म ९ वटा वडाको चुनावी परिणाम सार्वजनिक भएको छ । भरतपुरमा ९ वटा वडाको परिणाम सार्वजनिक गर्दा नेकपा एकीकृत समाजवादीले २ वटा वडा जितेको छ भने नेकपा एमालेले हालसम्म जम्मा एउटा वडामा मात्र जित हासिल गरेको छ ।
भरतपुर ९ को अध्यक्षमा एकीकृत समाजवादीका यमलाल कँडेल निर्वाचित भएका छन् । उनी पहिला सोही वडामा एमालेबाट वडाध्यक्ष बनेका थिए । गठबन्धनका उमेदवार कँडेलले एक हजार ९५८ मत ल्याउँदा एमालेका लिलाभल्लब भुसालले एक हजार ४०६ मत ल्याए ।
वडा नम्बर ७ को वडाध्यक्षमा गठबन्धनका तर्फबाट एकीकृत समाजवादी राजेन्द्रमणि काफ्ले निर्वाचित भएका छन्। उनले नेकपा एमालेका सनतकुमार लामिछानेलाई पराजित गरेका हुन्। काफ्ले पनि यसअघि एमालेबाट वडा नं ७ मा वडाध्यक्षमा निर्वाचित भएका छन् । एकीकृत समाजवादीले हालसम्म भरतपुरका २ वडामा जित हासिल गर्दा एमालेले वडा नं ३ मा मात्र जित हासिल गरेको छ । वडा नं १, २, ४, ५, ६, ८ नम्बर वडामा नेपाली कांग्रेसले जित हासिल गरेको छ ।