चितवन । भरतपुर महानगरमा गठबन्धनबाट उमेदवार बनेकी नेकपा माओवादी केन्द्रकी चितवन इन्चार्ज रेनु दाहालको अग्रता कायमै छ । भरतपुरको एमालेको गढ भनिएको वडा नं १० र ११ मा मतगणना भइरहेको छ । वडा नं ११ को गणना सुरु गरेपछि रेनु दाहालको अग्रता बढ्न सकेको छैन ।
भरतपुर महानगरमा हालसम्म ४५ हजार बढी मतगणना भइसकेको छ । वडा नं १० को गणनामा रेनु दाहालको झिनो अग्रता छ भने ११ को गणनामा विजय सुवेदीको झिनो अग्रता छ । यी वडामा सबैभन्दा धेरै मतदाता छन् । रेनु दाहालले १६६८९ मत ल्याएकी छन् । एमालेका विजय सुवेदीले १३ हजार ४१० मत आएको छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६९१५ भोट पाएका छन्।
नेकपा एमालेका नेताहरु अब विजय सुवेदीको अग्रता हुने बताउँछन् । वडा नं १२ को गणनापछि सुवेदीको मत धेरै नै माथि जाने एमालेका नेताहरुको भनाइ छ । तर एमालेको राम्रो भनिएको वडा ४ र ५ मा विजय सुवेदीलाई कम मत खसेपछि एमाले वृत्तमा त्रास छाएको छ ।
वडा नम्बर ११ को ११ सय मतगणना भएको छ । जसमा विजय सुवेदीले रेनुको अग्रता रोकेका छन् । ११ को वडाध्यक्षमा एमालेका उम्मेदवार कमल मल्ल १२४ भोटले अघि छन्।