चितवन । बागी उमेदवारका कारण खैरहनी ८ को एमाले किल्ला ढलेको छ । यसअघि २०७४ सालमा सो वडामा नेकपा एमालेको प्यानल नै विजयी भएको थियो ।
२०७४ मा एमालेको वडाध्यक्ष भएका अहिले टिकट नपाएपछि असन्तुष्ट भई स्वतन्त्रबाट वडाध्यक्षमै उमेदवारी दिएका टेकबहादुर थापा क्षेत्रीले भोट काटेपछि एमाले हारेको देखिन्छ । थापाले एमालेको ३०० भोट काटेपछि सो वडामा एमालेको लालकिल्ला भत्किएको छ ।
चितवनको खैरहनी नगरपालिका ८ को वडाध्यक्षमा नेपाली कांग्रेसबाट उमेदवार शंकर कँडेल विजयी भएका छन्। उक्त वडामा कांग्रेसको प्यानल नै विजयी भएको छ। सो वडामा गठबन्धनबीच पनि मित्रवत् प्रतिस्पर्धा थियो ।
कँडेलले निकटतम प्रतिद्वन्दी एमालेबाट उमेदवार शान्ति चौधरीलाई १४ मतले पराजित गरेका हुन्। कँडेलले कुल ८३८ मत प्राप्त गरेका छन् । प्रतिद्वन्दी चौधरीलाई ८२४ मत प्राप्त भएको छ। यस वडामा माओवादी केन्द्रका उमेदवार रामशरण कार्की जमिमले १२३ मत ल्याए । जुन मत राप्रपाको भन्दा कम हो । राप्रपाले सो वडामा २०९ भोट आएको छ ।