रोम (इटली) । विश्वमा खाद्यान्नको भाउ घटेको छ ।
वनस्पति तेल, अन्न र दूधजन्य सामाग्रीको भाउमा आएको कमीका कारण १२ महीनामा पहिलो पटक खाद्यान्नको मूल्य घटेको संयुक्त संघीय खाद्य निकाय (एफएओ) ले बिहीवार बताएको हो ।
जुन महीनामा खाद्य मूल्य सूचकांक औसत १२४ दशमलव ६ अंकमा आएको छ । गेडागुडी, तेलहन, दूधजन्य सामाग्री, मासु र चिनीको खाद्य डालोमा आउने मासिक परिवर्तन मापन गर्ने यो सूचकांक मेमा १२७ दशमलव ८ अंक रहेको थियो ।
गत वर्षको सोही अवधिको तुलनामा जुनमा मूल्य ३३ दशमलव ९ प्रतिशत धेरै छ । पाम आयलको मूल्य घट्दा जुनमा एफएओको वनस्पति तेलको मूल्य सूचकांक ९ प्रतिशतले घटेको छ । भट्मास र सूर्यमूखी तेलको भाउमा पनि कमी आएको छ ।
अन्न मूल्य सूचकांक अघिल्लो महीनाको तुलनामा जुनमा २ दशमलव ६ प्रतिशतले घटेको भएपनि गत वर्षको सोही अवधिमो तुलनामा भने ३३ दशमलव ८ प्रतिशत धेरै छ । समीक्षा अवधिमा दूधजन्य सामाग्रीको मूल्य १ प्रतिशतले घटेको छ ।
चिनीको मूल्य मापन गर्ने सूचकांक शून्य दशमलव ९ प्रतिशतले बढेर सन् २०१७ को मार्चयताकै उच्च स्तरमा उक्लिएको छ । मासुको मूल्य सूचकांक मेको तुलनामा जुनमा २ दशमलव १ प्रतिशतले बढेको छ । एजेन्सी