चितवन । चितवनको खैरहनी नगरपालिकाको वडा नम्बर ३ को वडाध्यक्षमा नेकपा एमाले पराजित भएको छ । उक्त वडामा नेपाली कांग्रेसका उमेदवार पूर्णबहादुर गुरुङ वडाध्यक्षमा निर्वाचित भएका छन् । गुरुङले आफनो निकटतम प्रतिद्वन्द्वी सुकुमाया घिसिङलाई ८० मतको अन्तरले पराजित गरेका हुन् ।
गुरुङले ७७७ मत ल्याएका थिए भने घिसिङले ६९७ मत प्राप्त गरेकी थिइन्। राप्रपाका वडाध्यक्षका उमेदवार शेरबहादुर खड्काले ४८० मत प्राप्त गरेर तेस्रो स्थान ओगटेका थिए।
खैरहनी–३ एमालेका केन्द्रीय सदस्य जेएन थपलिया र एमाले चितवनका उपाध्यक्ष कमल पाठकको वडा हो । कुनै समय एमालेको लालकिल्ला भनिएको यो वडामा अहिले एमाले पछारिएको छ । सोही वडाकी सुनिता थपलिया खैरहनी नगरपालिकाकी पहिलो उपमेयर बनेकी थिइन् । खैरहनीमा अहिले एमालेबाट उपमेयरमा उठेकी उमेदवार कविता उप्रेती पनि सोही वडाकी हुन् । खैरहनी ३ मा एमालेले आफ्नो साख गुमाएको छ ।