काठमाडौं । कलाकार निशा घिमिरेको स्वास्थ्य अवस्थामा सुधार भइरहेको अस्पतालले जनाएको छ । दुर्घटनामा परेर तीन वर्षदेखि मृत्युशय्यामा छटपटाइरहेकी कलाकार घिमिरेको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।
नर्भिक अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीले मोडल तथा कलाकार घिमिरेको जेठ २७ गते उद्धार गरेकी थिइन् । नर्भिकले सुरुवातदेखि नै उनको उपचारमा डेडिकेटेड स्वास्थ्यकर्मीको टिम नै खटाएको छ ।
कलाकार घिमिरेले केही दिनअघि आफ्नै दाँतले गाला टोकेपछि अत्यधिक रक्तश्राव भएको थियो । रक्तश्रावका कारण श्वास फेर्न कठिनाइ भएपछि उनलाई भेन्टिलेटरमा राख्नुपरेको थियो । आफ्नै दाँतले टोकिएको गालाको भित्री भागमा टाँका नै लगाएर उपचार गरेसँगै उनको अवस्थामा सुधार आएको थियो । असार २१ गते भेन्टिलेटरमा राखिएकी कलाकार घिमिरेलाई असार २३ गतेदेखि नै पुनः भेन्टिलेटरबाट निकालिएको थियो ।
हाल उनी आफैँले श्वास फेरिरहेकी छिन् र गालाको भित्री भागमा टोकिएर बनेको घाउ समेत निको हुने क्रममा रहेको अस्पतालले जनाएको छ । बाँकी स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको र उनलाई सीसीयू वार्डमा राखेर उपचार जारी राखिएको घिमिरेको उपचार गर्ने टिममको नेतृत्व गरिरहेका डा. पंकज जलानले बताए ।
अस्पतालले उनको ह्विलचेयर थेरापी, म्युजिक थेरापी लगायतका विभिन्न विधिबाट उनको उपचार गरिरहेको छ ।
उनले पछिल्लो समय बोल्नसमेत कोसिस गरिरहेको अस्पतालले बताएको छ ।
डा. जलानका अनुसार दुर्घटनाका कारण घिमिरेको ब्रेन इन्जुरी भएको र त्यसको अवस्था निकै जटिल रहेकोले पूर्ण रूपमा नर्मल हुने सम्भावना भने न्यून छ । “उहाँको ब्रेनमा निकै ड्यामेज भएको छ,” डा. जलानले भने, “तर, आएको बेलाको तुलनामा घाउहरू निको हुन थालेका छन् । हामीले डाइट र थेरापीमा फोकस गरेका छौँ । प्रोटिन, क्यालोरिजहरु प्रशस्त दिइरहेका छौँ ।”
तीन वर्षअघि अभिनयको कोर्स पढ्न उनी भारत गएकी थिइन् । त्यहाँ भएको सडक दुर्घटनामा परी गम्भीर घाइते भएकी थिइन् । दुर्घटनालगत्तै उनको भारतकै अस्पतालमा उपचार गरिएको थियो । तर, त्यहाँको अस्पतालको उपचार महङ्गो भएपछि कमजोर आर्थिक अवस्थाका उनका बुबाआमाले छोरीलाई नेपालमै ल्याएका थिए ।
काठमाडौँमा ल्याएर ट्रमा सेन्टरमा राखेर ३ महिनासम्म उपचार गरिएको थियो । तर, उनको अवस्थामा सुधार हुन सकेन । त्यसपछि चिकित्सकहरुकै सल्लाहअनुसार उपत्यकाका विभिन्न क्षेत्रका थेरापी सेन्टरहरुमा कलाकार घिमिरेको लगातार थेरापी गरिएको थियो ।
नियमित थेरापी गर्नसमेत आर्थिक अभाव भएको र त्यही बीचमा कोरोनाको संक्रमणसमेत बढेपछि उनी घरमै थन्किएकी थिइन् ।