चितवन। चितवनमा स्थानीय तह निर्वाचनको तयारी पूरा भएको छ । जिल्लाका सात वटै स्थानिय तहमा निर्वाचनको तयारी पुरा भैसकेको जिल्ला निर्वाचन कार्यालय चितवनका निर्वाचन अधिकृत भीमसेन कार्कीले जानकारी दिए।
जिल्ला निर्वाचन कार्कीका अनुसार सबै ठाउँका मतदान केन्द्रमा मतदाताहरू लामबद्ध हुन मिल्ने गरी डोरी टांगेर बार लगाइएको छ । उनका अनुसार सबै तहमा मतपत्र, मतपेटिका लगायतका निर्वाचनका सामाग्रीसहित कर्मचारी मतदान स्थलमा पुगिसकेका छन्। उनी भन्छन ‘मतदान केन्द्रमा मतदान अधिकृत तथा सहायक मतदान अधिकृत तथा कर्मचारी पुगिसकेर तयारी अवस्थामा हुनुहुन्छ। अब शुक्रबार मत खसाल्ने मात्रै काम बाँकी रहेको छ।’
शुक्रबार बिहान ७ बजेबाट मत खसाल्ने गरी व्यवस्था मिलाइएको छ भने पार्टीका प्रतिनिधि र स्वयंसेवकहरु तयारी अवस्थामा राखिएको छ।
मौसमको प्रतिकुल असर परेका कारण पानी पर्न सक्ने भन्दै कार्कीले मतदान स्थलमा टेन्टको व्यवस्था गर्न सबै स्थानिय तहमा निर्देशन दिएको समेत बताए। उनले सबै मतदान केन्द्रको सुरक्षा प्रबन्ध मिलाइएको र थप सुरक्षाकर्मी तयार अवस्थामा राखिएको जानकारी दिए ।
त्यस्तै भरतपुरको अन्तराष्ट्रिय प्रदर्शनी केन्द्रमा मतगणना हुने भएको छ। मतगणनास्थल सुरक्षाका लागि उक्त स्थानमा फलामको डण्डी गाडेर त्यसमाथि जाली हालेर सुरक्षित बनाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले कुनै अप्रिय घटना गणनाको क्रममा नघटोस् भनेर फलामको डण्डी गाडेर त्यसमाथि जाली हालिएको छ । मतगणना स्थलमा सिसी क्यामेरासमेत जडान गरिएको छ
जिल्लाभर १६१ मतदानस्थलमा रहेका छन् भने ४५१ मतदान केन्द्र रहेका छन्। मतदानस्थललाई अति संवेदशनशील, संवेदनशील र सामान्य गरी विभाजन गरी सुरक्षा व्यवस्था मिलाइएको छ । एकीकृत सुरक्षा योजना समितिले सुरक्षाका हिसाबले जिल्लामा २५ वटा अतिसंवेदनशील, ९२ वटा संवेदनशील र ४४ वटा मतदानस्थल समान्य गरी वर्गीकरण गरेको छ । सबै केन्द्रमा तीन हजार ६०८ कर्मचारी खटिएका छन्।
त्यस्तै जिल्लाभर तीन लाख ९७ हजार ६८५ मतदाता रहेका छन् । जसमध्ये दुई लाख चार हजार ६६६ जना महिला, एक लाख ९३ हजार १८ जना पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् ।
कूल मतदातामध्ये भरतपुर महानगरपालिकामा एक लाख ८५ हजार ७५२, रत्ननगर नगरपालिकामा ५२ हजार ६४२, खैरहनीमा ४३ हजार ५३१, कालिकामा ३१ हजार १५७, राप्तीमा ४० हजार ६४९, माडीमा २८ हजार ३२० र इच्छाकामना गाउँपालिकामा १५ हजार ६३४ मतदाता रहेका छन् ।