चितवन । खैरहनी नगरपालिकामा गठबन्धनबाट मेयरमा उमेदवार बनेका शशी खनियाँले खैरहनी नगरपालिकामा आफू मेयरमा निर्वाचित भए किसानदेखि विद्यार्थीसम्मका सम्पूर्ण समस्या समाधान गर्ने बताए ।
खैरहनी नगरपालिकामा रहेका १३ वटै वडाको घरदैलोपछि आज भएको चुनावी सभामा खनियाँले भने, ‘आज किसानले मल पाइरहेका छैनन्, बीउ पाइरहेका छैनन् । म मेयरमा निर्वाचित भए भने यस्ता समस्यालाई हल गर्नेछु ।
खनियाँ नेपाली कांग्रेसका नेता हुन् । खैरहनी नगरपालिका गठबन्धनको भागवण्डामा नेपाली कांग्रेसलाई परेको छ । पाँच दलीय गठबन्धनको विषयमा बताउँदै खनियाँले भने, ‘म निर्वाचित भएपछि सबैको मान्छे बन्छु, तेरो र मेरो भावना राख्दिनँ, सुख सुविधामा भुल्दिनँ ।’ उनले नगरको विकासको लागि गठबन्धन बनेको दावी गर्दै भने, ‘गठबन्धनलाई सबैले स्वागत गरेका छन्, सबैको साथ छ ।’ उनले सडक, कृषि, पूर्वाधार, शिक्षा र स्वास्थ्यमा आमुल परिवर्तन गर्ने गरी काम गर्ने बताए ।