चितवन । खैरहनी नगरपालिकामा गठबन्धनबाट उपमेयरमा उमेदवार बनेकी लक्ष्मी ढकालले जनताको सेवक भएर खैरहनीको विकासमा लाग्ने प्रतिबद्धता जनाएकी छन् । आज खैरहनी नगरपालिकामा गठबन्धनले गरेको चुनावी सभामा उपमेयरकी उमेदवार ढकालले प्रतिबद्धता जनाउँदै भनिन्, ‘तपाइँहरुले मलाई विजयी गराउनुभयो भने म ‘उपमेयरसाब’ हुन्न, सेवक भएर काम गर्नेछु ।’
गठबन्धनले खैरहनी नगरपालिकामा रहेका १३ वटै वडाको घरदैलोपछि गरेको विशाल सभामा ढकालले समानुपातिक, संघीयता गणतन्त्रको रक्षा गर्दै स्थानीय तहमा आएका जुनकुनै उपलब्धि गुम्न नदिने प्रतिबद्धता जनाइन् । हजारौँ खैरहनीवासी समक्ष उनले भनिन्, ‘म निर्वाचित भए पनि हजुरको साथमा रहन्छु, अन्यायमा पर्नुभएका दिदीबहिनीको पक्षमा न्यायको लागि लड्छु ।’
उनले आफूलाई नगरवासीले विश्वास गरेर जिताए समृद्ध नगरपालिका बनाउन हरहमेसा खटिने बताए । उनले भनिन्, ‘व्यवस्थित, सुन्दर नगरपालिका बनाउन सदैव प्रयत्नशील रहन्छु, रोजगारको क्षेत्रमा, कृषि, पर्यटन, सडक, पूर्वाधारको क्षेत्रमा काम गर्नेछु ।’ उनले शिक्षा, स्वास्थ्य क्षेत्रमा खैरहनी नगरपालिकालाई अगाडि बढाएर देशकै नमुना नगरपालिका भनेर चिनाउने प्रतिबद्धता पनि गरेकी छन् ।
विभिन्न सामाजिक संघसंस्थामा आबद्ध भएर १५ वर्ष सामाजिक काममा तल्लीन रहेकी ढकाल निरन्तर खैरहनी नगरवासीमाझ भिजेकी नेतृ हुन् । नेकपा माओवादी केन्द्रको भागमा परेको खैरहनी नगरपालिकामा गठबन्धनबाट ढकाल उमेदवार बनेकी हुन् ।