चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले आसन्न स्थानीय तह निर्वाचनलाई लिएर सुरक्षा व्यवस्थामा कडाइ गरेको छ । प्रशासनले निर्देशन दिएसँगै जिल्लामा शान्ती सुरक्षा कायम गर्न जिल्ला प्रहरी कार्यालयले सुरक्षाकर्मी परिचालन गरिसकेको छ ।
मतदान स्थल र मतदान केन्द्रको सुरक्षा व्यवस्था चुस्तदुरुस्त राख्न तथा भयरहित वातावरणमा चुनाव गराउन सुरक्षाका विभिन्न रणनीतिको कार्ययोजना बनाइ अघि बढेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीका अनुसार निर्वाचनका लागि नेपाल प्रहरी, नेपाली सेना र म्यादी प्रहरी गरी जिल्लाभर तीन हजार पाँच सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।
अधिकारीका अनुसार हिजो (सोमबार)देखि जिल्लाभरका सातै पालिकाका मतदान केन्द्रमा सुरक्षाकर्मी खटिका छन् । निर्वाचनका बेला जिल्लामा हिंसात्मक घटना हुन नदिन प्रहरी प्रशासनले सुरक्षा कार्ययोजना बनाइ अघि बढेको प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिए ।
जिल्लाभर ४५५ मतदान केन्द्र रहेका छन् । जसमध्ये भरतपुर महानगरपालिकामा २०५ मतदान केन्द्र, रत्ननगर नगरपालिकामा ६१, खैरहनी नगरपालिकामा ५१, कालिका नगरपालिकामा ३७, राप्ती नगरपालिकामा ४७, माडी नगरपालिकामा ३२ र इच्छाकामना गाउँपालिकामा २२ वटा मतदान केन्द्र राखिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
एकीकृत सुरक्षा योजना समितिले सुरक्षाका हिसाबले चितवनमा अतिसंवेदनशील २५, संवेदनशील ९२ र ४४ वटा मतदान स्थललाई वर्गीकरण गरिएको छ ।
जिल्लाभरका संवेदनशील र अतिसंवेदशील मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा गरिने प्रहरी नायव उपरीक्षक अधिकारीले बताए । उनले भने, ‘अतिसंवेदनशील र संवेदनशील मतदान केन्द्रहरुमा अन्य केन्द्रहरुको तुलनामा प्रहरीको संख्या बढी हुन्छ । उक्त क्षेत्रमा सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरी रहनेछन् ।’
त्यस्तै, जिल्लाको महत्वपूर्ण क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ । स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरी जिल्लाको महत्वपूर्ण मानिएको क्षेत्र कारागार कार्यालय चितवन र भरतपुर विमानस्थलको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको हो । प्रहरी नायव उपरीक्षक अधिकारीका अनुसार विशेष गरी निर्वाचनमा मूख्य क्षेत्रमा आपराधिक क्रियाकलाप हुन नदिन सुरक्षा यी क्षेत्रमा व्यवस्था कडा गरिएको छ ।
निर्वाचनलाई भयरहित र विश्वसनिय बनाउन जिल्ला प्रशासन कार्यालय चितवनले आज (मंगलबार) राति १२ बजेदेखि मादक पदार्थ विक्री वितरण नगर्न निर्देशन दिएको छ ।
निर्वाचनलाई भयरहित बनाउन र जिल्लामा शान्ति सुरक्षालाई मध्यनजर गर्दै आज रातिदेखि मदिरा विक्री वितरणमा रोक लगाइने जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले बताए । जिल्लामा रहेका होटल, रेष्टुराँहरु राती १२ बजेसम्म नै सञ्चालन हुने बताउँदै उनले भने, ‘होटल व्यवसायीहरुले व्यवसाय सञ्चालन गरे पनि मदिरा विक्री गर्न भने पाउने छैनन् ।’ प्रशासनको निर्णय विपरित कसैले मादक पदार्थ विक्री वितरण गरेको पाईए कानुन बमोजिम कारबाही हुने समेत उनले चेतावनी दिएका छन् ।