काठमाडौं । कोभिड–१९ विरुद्धको दोस्रो डोज अभियानअन्तर्गत मंगलबार देशभर ८२ हजार ९२४ जनाले भेरोसेल खोपको दोस्रो डोज लगाएका छन् ।
स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका अनुसार हिजो खोप अभियान सञ्चालन गरिएका ४१ जिल्लाबाट झन्डै ८३ हजारले खोप लिएका हुन् । काठमाडौंका १० वटा पालिकामा मात्रै ३२ हजार १४ जनाले खोप लिएको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले बताए ।
आजदेखि भने ७७ वटै जिल्लामा खोप कार्यक्रम सञ्चालन हुने महाशाखाले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले पहिलो मात्रा भेरोसेल खोप लगाएर समय पुगी दोस्रो मात्रा लगाउन छुटेका र गएको जेठ २५ गते लगाएका समेत गरी करिब पाँच लाख नागरिकलाई भेरोसेलको दोस्रो डोज खोप दिइने जनाएको छ । काठमाडौंमा भने बिहीबारसम्म मात्रै खोप अभियान सञ्चालन हुनेछ ।