चितवन। राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डेले ठुला भनिएका दलहरु असफल भैसकेको बताएका छन् । उनले देशलाई संकटमुक्त बनाउन ठुला भनिएका दलहरु असफल बनेको जीकिर गरे । खैरहनी नगरपालिकाको पर्सा बजारमा आयोजित चुनावी कोणसभामा बोल्दै उनले देशलाई विकासको गतीमा लैजान छाडेर राजनीतिक किचलोमा फस्ने गरेको आरोप लगाए ।
“जनअपेक्षाका विकास, निर्माण गर्न छाडेर राजनीतिक भागबण्डामा सक्रियहुँदा देशले निकास पाउन सकेन”, उनले भने “३२ वर्ष शासन चलाएका दलहरु असफल भैसकेका छन्, अब जनताले सोच्नुपर्ने बेला आएको छ ।” उहाँले यो वा त्यो पार्टी भनेर पार्टीको पक्षमा लाग्न छाडेर राष्ट्रवादी दललाई जिताउन लाग्नुपर्ने बताए । “ऋण काढेर विदेश जानुपर्ने अवस्था हटाउनुपर्छ, स्वदेशमै रोजगारी सृजना गर्नुपर्छ”, उनले भने, “बन्द भएका उद्योग, कलकारखानाहरु सञ्चालन गर्नुपर्छ, लगानीमैत्री वातावरण बनाउन लाग्नुपर्छ ।”
पाण्डेले स्थानीय सरकारबाट भनसुन विनानै सेवा पाउनुपर्ने अवस्था बनाउन राप्रपाले स्थानीय तहमा उम्मेदवारी दिएको बताए । “जनताले कल्पना गरेको जस्तो नगरपालिका र वडा कार्यालयहरु बनाउन राप्रपाले उम्मेदवारी दिएको छ”, उनले भने, “जनतासँग निकट रहेर घरदैलोमै पुगेर सेवा दिन सक्ने जनप्रतिनिधि रोज्नुपर्छ, जनताले अबको चुनावमा सहि उम्मेदवार छनौट गर्नुपर्नेछ ।” उनले राप्रपाले विकासप्रेमी र वडाका समस्याहरु बुझेका र समस्या समाधान गर्नसक्ने क्षमता भएकाहरुलाई उम्मेदवार बनाएकाले यसपाली राप्रपाले धेरै स्थानीय तहमा जित हासिल गर्ने दाबी गरे । खैरहनी नगरपालिकाका १३ वडाहरुका विभिन्न ठाउँमा आयोजना भएका कोणसभालाई पूर्वमन्त्री पाण्डेले सम्बोधन गरेका थिए ।