चितवन। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज चितवन आउँदैछन्। जिल्ला प्रचार विभाग नेकपा एमाले चितवनले आज हुने नारायणगढको क्याम्पाचौरमा ५० हजारभन्दा बढी जनता उतार्ने दावी गरेको छ ।
नारायणगढस्थित क्याम्पाचौरमा आयोजना हुन् लागेको विशाल आमसभा आज दिउँसो १२ बजेबाट सुरु हुने एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिए ।
आमसभामा अध्यक्ष ओलीसँगै एमाले नेता रामबहादुर थापा ‘बादल’, सुरेन्द्र पाण्डे, राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे लगायतका केन्द्रीय नेताहरुले संवोधन गर्नेछन् ।
गठबन्धनका दलले केन्द्रीय बसपार्कमा आयोजना गरेको आमसभाको मञ्च पानीले डुबानमा परेपछि एमालेले क्याम्पाचौरमा आमसभा गर्न लागेको हो । आमसभाको तयारी बारे एमाले जिल्ला प्रचार विभागले शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको थियो ।
भरतपुर महानगरपालिकामा एमाले–राप्रपा तालमेल गरेका छन् । भरतपुरको मेयरमा एमालेका विजय सुवेदी र उपमेयरमा राप्रपाकी हिमला गुरुङको उमेदवारी रहेको छ । मौन अवधी सुरु हुन तीन दिन मात्रै बाँकी रहँदा उमेदवारहरुले चुनावी घरदैलोलाई तीव्र बनाएका छन् । यसअघि पाँच दलीय गठबन्धनले वैशाख २२ गते भरतपुरमा चुनावी सभाको आयोजना गरेको थियो ।