चितवन । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले यसपटकको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको विजय सुनिश्चित देखेर सत्तारुढ गठबन्धन अनेक हत्कण्डामा लागेको बताएका छन् ।
आज भरतपुरमा नेकपा एमाले चितवनले गरेको पत्रकार सम्मेलनमा नेता बादलले भने, ‘दक्षिणपन्थी गठबन्धन आफ्ना उमेदवारलाई जिताउन अनेक हत्कण्डा अपनाउन थालेका छन्, पराजयबाट आक्रोशित भएर जसरी पनि जित्न अनेक हत्कण्डा अपनाउन निर्देशन दिएका छन्, तर जनताको मतले नेकपा एमालेको जित सुनिश्चित हुनेछ ।’
नेता बादलले डडेलधुरा र चितवनबाट जित्नको लागि हत्कण्डा सुरु भएको बताए । उनले भने, ‘डडेलधुरामा कांग्रेसले नजिते बजेट पठाउँदैनौँ भनियो, चितवनमा गठबन्धनले नजिते देश दुर्घटनामा पर्छ भनियो, यस्ता हत्कण्डा सुरु भएको छ, चनाखो हुनुपर्छ ।’ देशको चौतर्फी विकास गर्ने ठोस नीति नेकपा एमालेसँग मात्र रहेको हुनाले पालिकाको सरकारमा अग्रगामी शक्ति नेकपा एमालेका जित सुनिश्चित भएको नेता बादलले दावी गरे ।